काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले शुक्रबार सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनलाई जीवितै बाहिर निकालेको हो।
शुक्रबार बिहान सुरुङभित्र खोजीका क्रममा मानिसको आवाज सुनिएपछि उद्धार टोलीले उक्त क्षेत्रमा खोजी तीव्र बनाएको थियो। केही समयपछि टोली सुरुङभित्र फसेका व्यक्तिसम्म पुग्न सफल भएको हो।
उद्धार गरिएका सञ्जय साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन् भने कविर महर्जन त्रिशूली–३ ‘ए’ आयोजनाका सुपरभाइजर रहेको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए।
१० भदौमा आएको बाढीले आयोजनाका संरचनामा ठूलो क्षति पुर्याउनुका साथै काममा खटिएका केही व्यक्ति सुरुङभित्र फसेका थिए।
दुई जनालाई १० दिनपछि जीवितै उद्धार गरिएसँगै उद्धार टोलीमा उत्साह थपिएको छ। सुरुङभित्र अझै कोही व्यक्ति फसेको हुनसक्ने आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेको छ।
