२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढी : १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता

भोटेकोशी बाढी : १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता

रोज नेपाल
शनिवार, भाद्र २० २०८३
रोज नेपाल
शनिवार, भाद्र २० २०८३
  • रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १ हजार ३४४ वटा शव फेला परेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परेका ४ हजार ८९८ जना अझै सम्पर्कविहीन छन्।

    फेला परेका शवमध्ये ४८९ जना पुरुष, २६९ जना महिला, ५२ जना बालक र ३३ जना बालिका रहेको प्रहरीले जनाएको छ। यसबाहेक ५०१ वटा शवका विभिन्न अङ्ग फेला परेका छन्। ती अङ्गको पहिचान भने हुन सकेको छैन।

    बेपत्ता भएकामध्ये २ हजार ९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेको विवरणमा उल्लेख छ। नेपाली नागरिकतर्फ २ हजार ४४८ पुरुष र ४८२ महिला रहेका छन्। थप १ हजार ३५० जना बेपत्ता भएको सूचना फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ।

    बाढी प्रभावित क्षेत्रबाट उद्धार अभियानमार्फत अहिलेसम्म ८ हजार ६३१ जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा ७ हजार ३८७ नेपाली तथा १ हजार २४४ विदेशी नागरिक छन्। बाढीका कारण घर तथा बासस्थानबाट विस्थापित ३ हजार ६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।

    खोजी तथा उद्धारका लागि ७ हजार २१२ प्रहरी परिचालन गरिएको छ। उद्धारका क्रममा ६५ जना प्रहरी कर्मचारीसमेत प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कमा आउन सकेका छैनन्।

    प्रहरीका अनुसार फेला परेका शवमध्ये १ हजार ३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका मृतकको पहिचानका लागि डीएनए परीक्षणलाई समेत प्राथमिकता दिइएको छ।

    हालसम्म १ हजार २६० मृतक र उनीहरूका ९७२ जना आफन्त गरी २ हजार २३२ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन बाँकी १ हजार २७० जनासम्बन्धी विवरण वेबसाइटमा सार्वजनिक गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij