२०८३, कार्तिक १९ गते

Nov 04 2026

समयमै उद्धार तीव्र पारेको भए थप नागरिकको ज्यान जोगिन्थ्यो : पुष्पकमल दाहाल

समयमै उद्धार तीव्र पारेको भए थप नागरिकको ज्यान जोगिन्थ्यो : पुष्पकमल दाहाल

रोज नेपाल
शनिवार, भाद्र २० २०८३
रोज नेपाल
शनिवार, भाद्र २० २०८३
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्का बेला उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सरकार र राज्य संयन्त्र थप गम्भीर हुनुपर्ने बताएका छन्।

    शनिबार काठमाडौंमा चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको निजामती सम्मान कार्यक्रममा बोल्दै उनले बाढीपछि लामो समयसम्म भग्नावशेषमा रहेका नागरिकको जीवितै उद्धार हुनु सकारात्मक भए पनि उद्धार अभियान सुरुदेखि नै तीव्र बनाउन सके अझै धेरैको जीवन जोगाउन सकिने अवस्था रहेको बताए।

    प्रचण्डले आगामी दिनमा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै राज्यका संयन्त्रलाई थप तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए। उद्धारमा ढिलाइ हुन नदिन स्पष्ट योजना, प्रभावकारी समन्वय र तत्काल परिचालन हुने संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो।

    कर्मचारी प्रशासनमा त्रास र दबाबको वातावरण सिर्जना गरेर काम गराउने शैली उपयुक्त नहुने उनले बताए। असल नेतृत्व, स्पष्ट नीति र योजनाको प्रभावकारी कार्यान्वयनमार्फत कर्मचारीलाई उत्प्रेरित गर्दै जिम्मेवारीपूर्वक काम गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

    विपद्को समयमा कर्मचारीलाई डर देखाएर नभई उनीहरूको मनोबल बढाउँदै सेवामा परिचालन गर्नुपर्ने प्रचण्डको भनाइ थियो।

    उनले मुलुकका राजनीतिक तथा प्रशासनिक क्षेत्रमा अन्योल र अस्थिरताको अवस्था देखिएको पनि टिप्पणी गरे। सरकारलाई राम्रो काममा सहयोग र कमजोरीमा आलोचना गर्ने आफ्नो नीति रहेको उल्लेख गर्दै उनले वर्तमान सरकारका पछिल्ला गतिविधि भने अपेक्षाअनुसार सकारात्मक नदेखिएको बताए।

    प्रचण्डले लामो राजनीतिक संघर्षबाट प्राप्त उपलब्धि, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको संरक्षणका लागि राजनीतिक नेतृत्वदेखि कर्मचारी, नागरिक समाज र आम नागरिकसम्म सबै सचेत र जिम्मेवार हुनुपर्ने धारणा राखे।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij