कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन सुपर सेती हाइड्रोपावरको सडक निर्माणका क्रममा खसेको पहिरोमा परी दुई जना कामदारको मृत्यु भएको छ।
शनिबार बिहान करिब ११ बजे बाटो खन्ने क्रममा अचानक पहिरो खसेपछि तीन जना कामदार प्रभावित भएका थिए। घटनामा धनकुटाको पाख्रिबास नगरपालिका–८ का २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राई गम्भीर घाइते भएका थिए।
स्थानीयवासीको सहयोगमा उद्धार गरी दुवैलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा इलामका ३२ वर्षीय भक्तबहादुर मगर पनि घाइते भएका छन्। उनको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।