काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति वैकल्पिक बाटोबाट निरन्तर राखेको छ।
निगमले त्रिभुवन राजपथ (बाइरोड) प्रयोग गरेर तराईका विभिन्न उद्योगमा भरिएका ग्यास सिलिन्डर तथा पेट्रोलियम पदार्थ काठमाडौं ल्याउने व्यवस्था मिलाएको जनाएको छ।
गत भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको केही भागमा क्षति पुगेपछि इन्धन बोकेका ट्याङ्कर र ग्यास बुलेटहरू बाटोमै रोकिएका थिए। त्यसपछि आपूर्ति प्रभावित हुन नदिन निगमले वैकल्पिक सडकमार्फत ढुवानी सुरु गरेको हो।
निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५ सय र भदौ १९ गते ३४ हजार १३४ वटा एलपी ग्यास सिलिन्डर काठमाडौं उपत्यकामा ल्याइएको छ। आपूर्ति व्यवस्थालाई नियमित राख्न सार्वजनिक बिदाका दिनसमेत ग्यास रिफिलिङ तथा ढुवानी नरोक्न उद्योगहरूलाई निर्देशन दिइएको निगमले जनाएको छ।
यसैबीच, भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको क्षतिपछि जारी खोज तथा उद्धार अभियानमा पनि निगमले आवश्यक इन्धन तथा ग्यास उपलब्ध गराउँदै आएको छ।
उद्धार कार्यमा प्रयोग भइरहेका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गरिएको निगमले जनाएको छ।
त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रहमा रसुवा र नुवाकोटमा सञ्चालन गरिएका अस्थायी आश्रयस्थलका लागि ५७५ थान एलपी ग्यास सिलिन्डरसमेत पठाइएको निगमले जानकारी दिएको छ।