२०८३, आश्विन १ गते

Sep 17 2026

कृष्णभीरको अवरोधले काठमाडौंको भान्सा संकटमा : ग्यास किन्न घण्टौँ लाइन, मूल्य पनि बढ्यो

कृष्णभीरको अवरोधले काठमाडौंको भान्सा संकटमा : ग्यास किन्न घण्टौँ लाइन, मूल्य पनि बढ्यो

रोज नेपाल
सोमवार, भाद्र २२ २०८३
रोज नेपाल
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति गम्भीर रूपमा प्रभावित भएको छ । मागको तुलनामा आपूर्ति निकै कम भएपछि उपभोक्ता ग्यासका लागि घण्टौँ लाइन बस्न बाध्य भएका छन् ।

    नेपाल आयल निगमका अनुसार उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्छ । तर, पछिल्लो समय दैनिक करिब २५ हजार सिलिन्डर मात्रै बजारमा पुगिरहेको छ । अर्थात् मागको तुलनामा दैनिक करिब १५ हजार सिलिन्डरको कमी देखिएको छ ।

    भदौ १४ गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि कृष्णभीरमा सडकको ठूलो भाग क्षतिग्रस्त भएको थियो । काठमाडौँ जोड्ने नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाद्यान्नसँगै ग्यासको नियमित ढुवानीसमेत प्रभावित भएको हो ।

    ठूला बुलेट बाटोमै रोकिए

    सामान्य अवस्थामा तराईका डिपोबाट करिब २१ टन ग्यास बोकेका ठूला बुलेट सिधै काठमाडौँका उद्योगसम्म पुग्ने गर्छन् । तर सडक अवरुद्ध भएपछि ती बुलेट गन्तव्यसम्म पुग्न सकेका छैनन् ।

    नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार दैनिक सयभन्दा बढी ग्यास बुलेट भन्सारबाट पास भए पनि सडक अवरोधका कारण काठमाडौँ ल्याउन समस्या भइरहेको छ । अहिले तराईमै ग्यास भरेर साना ट्रकमार्फत वैकल्पिक बाटो हुँदै उपत्यका ल्याउने प्रयास भइरहेको उनले बताए ।

    देशभर रहेका ५८ वटा ग्यास उद्योगमध्ये अहिले करिब १७ देखि १८ वटा उद्योग मात्रै सञ्चालनमा छन् । काठमाडौँलाई आपूर्ति गर्ने उद्योगले पर्याप्त ग्यास पाउन नसक्दा रिफिलिङको काम पनि प्रभावित भएको छ ।

    उपभोक्तामाथि थपियो मूल्यको भार

    ग्यासको आपूर्ति घटिरहेका बेला उपभोक्तामाथि अतिरिक्त आर्थिक भारसमेत थपिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले ढुवानी खर्च समायोजन भन्दै प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा थप शुल्क लिन थालेको छ ।

    यससँगै काठमाडौँमा एलपी ग्यासको मूल्य २ हजार ६० रुपैयाँबाट बढेर २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ । कतिपय स्थानमा तोकिएकोभन्दा बढी रकम लिइएको उपभोक्ताको गुनासोसमेत आएको छ ।

    संघका अनुसार वैकल्पिक बाटो प्रयोग गर्दा ढुवानी खर्च बढेको छ । यही अतिरिक्त लागत व्यवस्थापन गर्न मूल्य समायोजन गरिएको उद्योगीहरूको भनाइ छ ।

    रित्तो सिलिन्डर बोकेर मध्यरातदेखि लाइन

    आपूर्ति घटेपछि उपत्यकाका विभिन्न ग्यास डिपोमा उपभोक्ताको लामो भीड देखिन थालेको छ । कलंकी, बालाजु, ललितपुरलगायत क्षेत्रमा रित्तो सिलिन्डर बोकेर मध्यरातदेखि नै लाइन बस्ने अवस्था सिर्जना भएको छ ।

    कतिपय उपभोक्ताले दुई–तीन दिनसम्म लाइनमा बस्दा पनि ग्यास नपाएको गुनासो गरेका छन् । एउटै व्यक्तिले एकभन्दा बढी सिलिन्डर लिएर लाइनमा बस्दा सीमित आपूर्तिमा वास्तविक उपभोक्ताले थप समस्या भोग्नुपरेको बताइएको छ ।

    ग्यास उद्योग संघले पनि वितरणमा केही डिलरबाट अनियमितता भएको स्वीकार गरेको छ । संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार केही डिलरले आफ्ना कर्मचारीलाई समेत उपभोक्ताको रूपमा लाइनमा राखेर ग्यास सुरक्षित गर्ने गरेको पाइएको छ ।

    वितरण व्यवस्थित गर्न परिचयपत्रका आधारमा ग्यास उपलब्ध गराउने योजना अघि सारिए पनि त्यसको कार्यान्वयन हुन नसकेको संघले जनाएको छ ।

    सडक खुलेपछि पनि तत्काल हट्दैन अभाव

    कृष्णभीरको सडक सञ्चालनमा आएलगत्तै ग्यासको समस्या पूर्ण रूपमा समाधान नहुने देखिएको छ । रोकिएका बुलेट काठमाडौँका उद्योगसम्म पुग्न, ग्यास रिफिल गर्न र डिलरमार्फत उपभोक्तासम्म वितरण गर्न केही समय लाग्ने भएकाले बजार सामान्य अवस्थामा फर्किन थप दिन लाग्ने अधिकारीहरूको भनाइ छ ।

    नेपाल आयल निगमका प्रवक्ता ठाकुरले सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि रोकिएका ग्यास बुलेट काठमाडौँ भित्रिन थाल्ने र त्यसको करिब तीन–चार दिनमा आपूर्ति बढ्ने बताएका छन् ।

    तर ग्यास उद्योग संघका अनुसार बजारमा देखिएको लामो लाइन हट्न र नियमित आपूर्ति कायम हुन कम्तीमा एक साता लाग्न सक्छ । काठमाडौँका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मात्रै दैनिक मागअनुसार ग्यास उपलब्ध गराउन सहज हुने संघको भनाइ छ ।

    सडक अवरोध लम्बिए संकट थप गहिरिने जोखिम

    अहिले वैकल्पिक मार्गबाट ग्यास ल्याउने प्रयास भइरहे पनि त्यसले नियमित आपूर्तिको अभाव पूर्ति गर्न सकेको छैन । दैनिक माग र आपूर्तिबीच १५ हजार सिलिन्डरको अन्तर रहेकाले सडक अवरोध लम्बिँदै गए उपत्यकाको ग्यास संकट अझ गहिरिन सक्ने देखिन्छ ।

    ग्यासको अभावसँगै मूल्य वृद्धि र वितरणमा देखिएको असमानताले उपभोक्तामाथि दोहोरो दबाब परेको छ । यस्तो अवस्थामा सरकारले सडक मर्मत तथा सञ्चालनलाई तीव्रता दिनुका साथै ग्यासको वितरण र मूल्यमा प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

    नियमित आपूर्ति पुनःस्थापित नभएसम्म काठमाडौँका उपभोक्ताले ग्यासका लागि लाइन बस्नुपर्ने र अतिरिक्त ढुवानी खर्चको भारसमेत वहन गर्नुपर्ने अवस्था कायम रहने देखिन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij