काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन्।
परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। महासभामा सम्बोधनका क्रममा नेपालले भोगिरहेको जलवायु परिवर्तनको असर र पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका विषयलाई प्रमुखताका साथ उठाउने तयारी भइरहेको छ।
प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई तथा सचिवालयका चार सदस्यसहितको सीमित प्रतिनिधिमण्डल न्यूयोर्क जाने तयारीमा छ।
भोटेकोशी बाढीलाई जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको गम्भीर प्राकृतिक विपत्तिको पछिल्लो उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्यायको मागलाई थप प्रभावकारी ढंगले उठाउने तयारी गरेको बताइएको छ।
यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने प्रधानमन्त्री शाहको पूर्वनिर्धारित कार्यक्रम थिएन। तर भोटेकोशी बाढीबाट भएको ठूलो क्षति र त्यसले जलवायु परिवर्तनसँग जोडिएका प्रश्नलाई थप गम्भीर बनाएपछि उनले महासभामा सहभागिता जनाउने निर्णय गरेको बताइएको छ।
महासभालाई सम्बोधन गरेको भोलिपल्ट अर्थात् असोज ९ गते नै प्रधानमन्त्री शाह स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र स्रोतले जनाएको छ।