चितवन । भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि चितवन कारागारमा रहेका कैदीबन्दीले सहयोग जुटाएका छन्। उनीहरूले आफैंबाट रकम संकलन गर्नुका साथै श्रमदान गरेर बाढीपीडितलाई आवश्यक सामग्री उपलब्ध गराएका हुन्।
सोमबार कारागार परिसरमा आयोजित कार्यक्रममा कैदीबन्दीले संकलन तथा श्रमदानबाट तयार पारिएका सामग्री प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गरे।
बाढी प्रभावितका लागि डसना, ब्ल्याङ्केट, तन्ना, सिरानी तथा सिरानीका खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मञ्जन र काइँयो गरी १२५ सेट सामग्री तयार गरिएको छ।
सहयोगका लागि कैदीबन्दीले आफ्नो क्षमताअनुसार न्यूनतम रु १०० देखि अधिकतम रु २ हजारसम्म रकम दिएका थिए। संकलित रकम र श्रमदानबाट रु ३ लाख ६७ हजार ३६ बराबरको सामग्री तयार गरिएको हो। डसना र सिरानी भने कैदीबन्दीले कारागार परिसरमै श्रमदान गरी बनाएका थिए।
प्रमुख जिल्ला अधिकारी अर्यालले विपद्मा परेका नागरिकका लागि कारागारभित्र रहेका कैदीबन्दीले गरेको सहयोग प्रशंसनीय र अनुकरणीय रहेको बताए। विपत्तिको समयमा मानवीय भावनासहित गरिएको यस्तो सहयोग समाजका लागि सकारात्मक उदाहरण बन्ने उनको भनाइ थियो।
चितवन कारागारमा हाल ७५० जना कैदीबन्दी रहेका छन्। तीमध्ये ७०८ जना पुरुष र ४२ जना महिला रहेको जनाइएको छ।