Samixa Thapa
काठमाडौँ । नेपालीकाे मौलिक कला, संस्कृति, परम्परा र तीजको सांस्कृतिक महत्वलाई संरक्षण गर्दै, नयाँ पुस्तामा सिकाउने उद्देश्यका साथ ‘मिस एण्ड मिसेस तीज–२०८३’ विशेष कार्यक्रम सभ्य र भव्यता साथ सम्पन्न भएको छ।
‘नारीको आत्मविश्वास, संस्कृति र सौन्दर्यको उत्सव’ भन्ने नारासहित आयोजना गरिएको, कार्यक्रममा विभिन्न उमेर समूहका नानीदेखि आमाहरूसम्मको उत्साहजनक सहभागिता रहेको थियो।
तीजको अवसर पारेर आयोजना गरिएको कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई नेपाली मौलिक संस्कृति, नारी प्रतिभा र आपसी सद्भावलाई एउटै मञ्चमा जोड्ने, प्रयासका रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा तीज विशेष दर खाने कार्यक्रमसँगै विभिन्न उमेर समूहमा नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो।
काठमाडौँसँगै पोखरा तथा अन्य विभिन्न स्थानबाट आएका सहभागीहरूले नेपाली गीत तथा तीजका मौलिक भाकामा आकर्षक नृत्य प्रस्तुत गरेका थिए।
बालिका, युवती तथा आमाहरूले आ–आफ्नो उमेर समूहअनुसार प्रस्तुत गरेको नृत्यले कार्यक्रमको माहोल थप उत्साहपूर्ण र मनोरञ्जनात्मक बनाएको थियो। नृत्य प्रतियोगितामा सहभागीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता प्रस्तुत गरेका थिए।
उत्कृष्ट प्रस्तुति दिने विजेताहरूलाई पुरस्कार, सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताले विभिन्न उमेर समूहका महिलाहरू तथा बालिकालाई आफ्नो प्रतिभा देखाउने अवसरसमेत प्रदान गरेको थियो। कार्यक्रममा दिदीबहिनीहरूबीच तीजको शुभकामना आदानप्रदान, दर खाने तथा मनोरञ्जनात्मक गतिविधि समेत गरिएको थियो।
नेपाली मौलिक पहिरनमा सजिएका सहभागीहरूको उत्साह, तीजका गीतमा प्रस्तुत नृत्य र सामूहिक सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
आयोजकका अनुसार ‘रमाऔँ पनि, संस्कृति पनि जोगाऔँ’ भन्ने मूल उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। पछिल्लो समय तीज मनाउने शैलीमा परिवर्तन आइरहेका बेला यसको मौलिकता, सांस्कृतिक पहिचान र पुस्तौँदेखि चलिआएको परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।
कार्यक्रममा तुफान खबरका डीबी पराजुलीलगायत विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। सञ्चारकर्मीहरूले कार्यक्रमका विभिन्न गतिविधि, नृत्य प्रतियोगिता, सहभागीहरूको प्रस्तुति तथा दर खाने कार्यक्रमलाई समाचार तथा सञ्चार सामग्रीका रूपमा समेटेका थिए। कार्यक्रममा सहभागी दिदीबहिनीहरूले तीजलाई रमाइलो र भेटघाटको अवसरसँगै नेपाली कला, संस्कृति र परम्परा संरक्षण गर्ने पर्वका रूपमा मनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
नानीदेखि आमासम्म एउटै मञ्चमा सहभागी भएर आफ्नो प्रतिभा प्रस्तुत गर्दा पुस्ताबीचको सांस्कृतिक सम्बन्धसमेत बलियो बनाउने वातावरण सिर्जना भएको थियो। यसरी ‘मिस एण्ड मिसेस तीज–२०८३’ ले नृत्य, सम्मान, दर खाने कार्यक्रम र आपसी शुभकामनालाई समेट्दै तीजको उत्सवलाई थप अर्थपूर्ण बनाएको छ।
मनोरञ्जनसँगै नारी प्रतिभाको सम्मान, मौलिक संस्कृतिको संरक्षण र नयाँ पुस्तामा तीजको सांस्कृतिक महत्व हस्तान्तरण गर्ने सन्देश कार्यक्रमले दिएको छ।