काठमाडौं । सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–७ बालग्राम क्षेत्रमा आइतबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाने क्रममा बिहान करिब २ः५० बजे सडकको डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि दुवै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको घोपा अस्पताल लगिएको थियो।
उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी रहेको बताइएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।