काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७८७ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
मंगलबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको सवारी जाँच तथा निगरानीका क्रममा उनीहरूलाई नियम उल्लंघन गरेको भन्दै कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७५ जना चालक छन्। त्यस्तै, सिसिटिभी निगरानीबाट ६५ जना र रातोबत्ती उल्लंघन गर्ने ८७ जना चालकलाई कारबाही गरिएको छ।
यसैगरी तीव्र गतिमा सवारी चलाउने ११७, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १९ र लेन अनुशासन उल्लंघन गर्ने १२ जना चालक कारबाहीमा परेका छन्।
अवस्था ठीक नभएको सवारी चलाउने २४, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने ४ तथा अन्य प्रकृतिका ट्राफिक नियम उल्लंघन गर्ने ३८८ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि उपत्यकाका विभिन्न स्थानमा नियमित जाँच र निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ।