२०८३, भाद्र ३१ गते

Sep 16 2026

विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखलाई काँग्रेसको ध्यानाकर्षण

विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखलाई काँग्रेसको ध्यानाकर्षण

रोज नेपाल
मंगलवार, भाद्र ३० २०८३
रोज नेपाल
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडाैं । नेपाली काँग्रेसले विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।

    मंगलवार नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर ध्यानाकर्षण गराउनुभएको हो । उहाँले विपद्पछिको राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गरेको बताउनु भयो ।

    विपद् व्यवस्थापनमा राज्यका सबै निकाय र राजनीतिक दलको समन्वय आवश्यक रहेकोले संसदीय समितिमार्फत सरकारका कामको अनुगमन र समन्वय गर्नुपर्ने उहाँको भनाई छ । उहाँकाअनुसार विपद् आएको १७-१८ दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाइएको संसदीय उच्चस्तरीय समिति गठनको विषय कार्यान्वयनमा आउन सकेको छैन । राहत व्यवस्थापनदेखि पुनःस्थापनासम्मका कामलाई जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउन समिति आवश्यक रहेको उहाँको भनाई छ ।

    उहाँले संसदीय समिति गठन गर्नु सरकारको विपक्षमा उभिनु नभएको पनि प्रष्ट पार्नुभयो । सरकारलाई थप व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउन संसदीय निगरानी आवश्यक रहेको उहाँको भनाई छ । विपद्बाट प्रभावित बालबालिका, सुत्केरी महिला तथा अन्य पीडितको अवस्था, सुरक्षित पुनःस्थापना र राहतका लागि प्राप्त सहयोगको सदुपयोगबारे समितिले अनुगमन गर्ने उहाँले बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘सत्तापक्षका सभापतिजीले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा विपत्तिपछि सर्वदलीय ढङ्गबाट अनुगमन गर्ने, निर्देशन दिने, पारदर्शिता कायम राख्दै व्यवस्थापनलाई थप व्यवस्थित गर्ने र पुनस्र्थापनाको पाटोमा गम्भीरता तथा संवेदनशीलताका साथ काम गर्ने निर्णय भएको थियो । सत्तापक्षका सभापतिजीले संसद्को रोस्टमबाट समेत त्यस विषयलाई उल्लेख गर्नुभएको थियो । तर, त्यसको पनि निकै दिन व्यतित भइसकेको छ । १७-१८ दिन बितिसकेको अवस्था छ । अहिलेसम्म गठन हुन सकेको छैन, यस विषयमा मैले उहाँलाई जानकारी गराएको छु । चाँडोभन्दा चाँडो संसदीय उच्चस्तरीय समिति गठन गरेर अहिलेको राहत व्यवस्थापनदेखि पुनस्र्थापनासम्मका विषयलाई प्रभावकारी रूपमा हेर्न आवश्यक छ । पीडितहरूको अवस्था, बालबच्चा, सुत्केरी महिला, महिलादेखि बालबालिकासम्मका विभिन्न पक्षलाई ध्यान दिनुपर्ने अवस्था छ । पीडितहरूको पुनस्र्थापना कसरी गर्ने, नयाँ बस्ती कहाँ र कसरी सुरक्षित ढङ्गबाट बसाउने भन्ने विषयमा पनि जिम्मेवारीपूर्ण र पारदर्शी ढङ्गबाट काम गर्न आवश्यक छ । हामीलाई राहत तथा सहयोग उपलब्ध गराउने सबैको सहयोग सुनिश्चित गर्दै त्यसको सदुपयोग कसरी भइरहेको छ भन्ने कुरा पनि स्पष्ट रूपमा भन्नुपर्ने हुन्छ । यी सबै विषयका लागि संसदीय उच्चस्तरीय समितिले चाँडोभन्दा चाँडो चासो राख्नुपर्छ । सरकारले संसदीय उच्चस्तरीय समिति गठन गर्नु भनेको सरकारको विरुद्धमा बोल्नु वा सरकारविरुद्ध समिति गठन गर्नु होइन । यो सरकारकै कामलाई थप व्यवस्थित र सरकारलाई थप जिम्मेवार बनाउनका लागि हो । कहाँ-कहाँ कसरी काम भइरहेको छ, कहाँ काम पुग्न सकेको छैन, कतिपय विषयमा राज्यको नजर पुग्न नसकेको अवस्था छ कि छैन भन्नेकुराको अनुगमन र समन्वय गर्न पनि यस्तो समिति आवश्यक छ । विपत्तिको समयमा राज्य छ भन्ने अनुभूति पीडितहरूलाई दिलाउनका लागि यो समिति जरुरी छ । त्यसैले यसलाई चाँडो भन्दा चाँडो गठन गर्नुपर्छ भन्नेकुरा पनि मैले उहाँलाई जानकारी गराएको छु ।’

    उहाँले प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई पनि तत्काल सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । संसदको नियमावली र कार्यतालिकाअनुसार प्रश्नोत्तर कार्यक्रम संसद र कार्यकारीबीच प्रत्यक्ष संवादको महत्वपूर्ण माध्यम भएकाले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अतिआवश्यक रहेको उहाँको भनाई छ ।

    उहाँकाअनुसार सभामुख यस विषयमा सकारात्मक रहेको र प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम चाँडै सञ्चालन गर्ने तयारी गरेको जानकारी दिएको बताउनु भयो । सभामुखसँगको भेटमा उहाँले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिकाबारे पनि सभामुखलाई जानकारी गराएको बताउनुभयो । कांग्रेसको वडा अधिवेशन ३ र ४ गते, प्रदेश तथा क्षेत्रीय अधिवेशन १० गते र केन्द्रिय महाधिवेशन १६ देखि १९ गतेसम्म हुने जानकारी सभामुखलाई गराइएको उहाँको भनाई छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij