काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहलमा बोलाइएको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको छ।
बैठकमा विपद्को जोखिम न्यूनीकरण, व्यवस्थापन तथा आगामी दिनमा प्रभावकारी समन्वयका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने प्रस्तावमाथि छलफल हुने बताइएको छ।
यसअघि भोटेकोशी बाढीपछि पनि सभापति लामिछानेको आह्वानमा दुईपटक सर्वदलीय बैठक बसेका थिए। पछिल्लो समय विपद्का घटनाबाट भएको क्षति, उद्धार तथा राहत व्यवस्थापनलगायत विषयमा राजनीतिक दलहरूबीच समन्वयको आवश्यकता बढिरहेका बेला आजको बैठकलाई महत्वका साथ हेरिएको छ।