२०८३, आश्विन १ गते

Sep 17 2026

आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा

रोज नेपाल
बिहिवार, आश्विन १ २०८३
रोज नेपाल
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौं । आज आश्विन सङ्क्रान्ति। देशभर भगवान् विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पर्व मनाइँदैछ। विशेषगरी कालिगढ, श्रमिक तथा उद्योग–कलकारखानामा काम गर्नेहरूले आफ्ना औजार तथा उपकरणको पूजा गर्दै यो पर्व मनाउने गर्छन्।

    विश्वकर्मा पूजाका अवसरमा उद्योग तथा कलकारखाना सजाउने, विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी विधिपूर्वक पूजा गर्ने चलन छ। कतिपय स्थानमा बालुवा तथा अन्य सामग्रीबाट बनाइएको मूर्ति पूजापछि पवित्र नदी वा जलाशयमा विसर्जन गरिन्छ।

    धार्मिक मान्यताअनुसार विश्वकर्मालाई वास्तुकला र निर्माण विद्याका ज्ञाता मानिन्छ। उहाँले भगवान् कृष्णलाई सुरक्षित राख्न समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको कथन धार्मिक ग्रन्थ तथा परम्परामा पाइन्छ।

    विश्वकर्माको पूजा गर्दा काममा प्रयोग हुने औजार लामो समयसम्म टिक्ने, कामका क्रममा समस्या नआउने र सीपअनुसार राम्रो परिणाम प्राप्त हुने विश्वास कालिगढ तथा श्रमिकमा रहँदै आएको छ।

    विश्वकर्मा पूजासँगै आजको दिनलाई वास्तु दिवसका रूपमा समेत मनाउने गरिन्छ। वास्तुशास्त्रका अध्येता तथा वास्तुविद्हरूले विश्वकर्मालाई स्थापत्य तथा निर्माण विद्याका प्रमुख ज्ञाताका रूपमा स्मरण गर्दै विभिन्न कार्यक्रम गर्ने गरेका छन्।

    नेपालमा समेत पछिल्लो समय वास्तुविद्याप्रति आकर्षण बढ्दो छ। प्राचीन स्थापत्य परम्परा र वास्तुशास्त्रमा आधारित घर तथा संरचना निर्माण गर्ने क्रम बढ्दै जाँदा वास्तुविद्याको महत्वसमेत पुनः चर्चामा आउन थालेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij