काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य पुनः प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम भएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबार असोज २ गते देखि निगमले तोकेको मूल्यभन्दा बढी नलिई ग्यास बिक्री–वितरण गर्न उद्योगी तथा विक्रेतालाई निर्देशन दिएको हो।
यसअघि पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएपछि ग्यास उद्योगहरूले वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास ल्याउँदै आएका थिए। लामो दूरीको वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी खर्च बढेपछि प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा थप गरी अधिकतम २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसासम्ममा ग्यास बिक्री गर्न आग्रह गरिएको थियो
तर अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्र्याक खुलेर यातायात सञ्चालनमा आएपछि ग्यास बुलेटहरू नियमित रूपमा काठमाडौं आउन थालेका छन्। त्यससँगै थप ढुवानी खर्च हटाइएको संघले जनाएको छ।
संघका अध्यक्ष दिवान चन्दले जारी गरेको विज्ञप्तिमा काठमाडौं उपत्यकाका सबै ग्यास उद्योगीलाई २ हजार ६० रुपैयाँभन्दा बढी नलिई बिक्री गर्न र सोहीअनुसार आफ्ना विक्रेतालाई जानकारी गराउन आग्रह गरिएको छ।
