प्रतिनिधिसभा सचिवालयका अनुसार बैठक मध्याह्न १२ः१५ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बस्नेछ।
विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठन गर्ने प्रस्तावमाथि छलफल हुने भएको छ।
भोटेकोशी क्षेत्रमा भएको विपद्पछि खोज, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणको अनुगमन गर्न तथा भविष्यमा हुने क्षति न्यूनीकरणका लागि सरकारलाई नीतिगत सुझाव दिन विशेष समिति गठन गर्ने तयारी गरिएको हो।
प्रस्तावित समितिले विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, दिगो पूर्वाधार पुनर्निर्माण र विपद् व्यवस्थापनसम्बन्धी कानुनका विषयमा समेत अध्ययन गर्नेछ।
समिति गठनका लागि दलहरूबीच छलफल हुँदै आए पनि सदस्य संख्या, कार्यक्षेत्र, कार्यावधि र संयोजकबारे सहमति जुट्न बाँकी छ।
बैठकमा यी विषयमा सहमति जुटाएर समिति गठन प्रक्रिया अघि बढाउने तयारी छ।
साथै अन्य विविध विषयमा समेत छलफल हुने सचिवालयले जनाएको छ।
समितिका सदस्यहरूलाई बैठकमा उपस्थितिका लागि अनुरोध गरिएको छ।
