काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटवार्तामा नेपाल–भुटान द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको हो ।
भेटमा दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए ।
त्यसैगरी, जलवायु परिवर्तनका कारण बढ्दै गएको प्राकृतिक विपद्को आवृत्ति र तीव्रताका विषयमा समेत छलफल भएको थियो ।
नेपाल र भुटान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा यस क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।
भेटवार्तामा नेपाल र भुटानबीचको पारस्परिक हित तथा साझा चासोका अन्य विषयमा समेत छलफल भएको जनाइएको छ ।
