काठमाडौं । मनास्लु हिमालको क्याम्प–३ मा हिउँपहिरोमा परी मृत्यु भएका दुई जनाको शव उद्धार गरी काठमाडौं ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण यसअघि उद्धार हुन नसकेका शव आज बिहान ७ बजे एभरेस्ट एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।
सुरुमा गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ ल्याइएको थियो । त्यहाँबाट थप कानुनी तथा आवश्यक प्रक्रियाका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
मकालु एड्भेन्चरमार्फत मनास्लु आरोहणमा गएका ४७ वर्षीय जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी संखुवासभाका ४८ वर्षीय फुर्सेम्बा शेर्पा
गत असोज ४ गते क्याम्प–३ को टेन्टभित्र हिउँले पुरिएको अवस्थामा मृत फेला परेका थिए । लामो समयदेखि खराब मौसमका कारण रोकिएको शव उद्धार कार्य मौसममा सुधार आएपछि सफल भएको प्रहरीले जनाएको छ।
