काठमाडौँ । सरकारले ‘रोजगार दशक’ अभियानअन्तर्गत कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ नारासहित आगामी असोज १४ देखि २० गतेसम्म मेला सञ्चालन गर्न लागेको हो ।
मन्त्रालयका अनुसार उत्पादनशील रोजगारी सिर्जना, युवाको सीप विकास तथा श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मलाई ‘रोजगार दशक’ का रूपमा अघि बढाउने घोषणा गरेको छ ।
सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३ अनुसार मेलामा उद्योग, सेवा, कृषि र निर्माणलगायत १० विधाका ६५ वटा स्टल रहनेछन् । मेलाको मुख्य उद्देश्य श्रम बजारको माग पहिचान गरी सोहीअनुसार सीप तालिम उपलब्ध गराउने र तालिमपछि रोजगारीसँग जोड्ने रहेको मन्त्रालयले जनाएको छ ।
रोजगारदाता र रोजगारी खोज्नेबीच ‘जब म्याचिङ’
मेलामार्फत रोजगारदाता र रोजगारी खोजिरहेका व्यक्तिबीच प्रत्यक्ष सम्पर्क गराउने तयारी गरिएको छ । यसका लागि मन्त्रालयले तयार पारेको पोर्टल प्रयोग गरिनेछ ।
कोशी प्रदेशका १३७ वटै स्थानीय तहमा कार्यरत रोजगार संयोजकको सहभागितामा रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच अधिकतम ‘जब म्याचिङ’ गर्ने मन्त्रालयको योजना छ । मेलामा विराटनगर, धरान, इटहरी, इनरुवा, सुन्दरहरैंचा, दुहबी, कटहरी, बुढीगंगा र गढीलगायत औद्योगिक क्षेत्रसँग जोडिएका स्थानीय तहको सहभागिता रहनेछ ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासंघलगायत निजी क्षेत्रका संघ–संस्थाको समेत सहभागिता रहने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सीपअनुसार रोजगारी र रोजगारीमार्फत स्वदेशमै सम्मानजनक भविष्य निर्माण गर्ने उद्देश्यले आयोजना हुन लागेको मेलामा रोजगारदाता उद्योगी–व्यवसायी, युवा, श्रमिक तथा शैक्षिक र प्राविधिक संस्थालाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
