काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन प्रक्रिया शनिबार अधिकांश क्षेत्रमा अघि बढेको छ। केही स्थानमा प्रतिकूल मौसमका कारण कार्यक्रम प्रभावित भए पनि अधिकांश निर्वाचन क्षेत्रमा निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न भइरहेको कांग्रेसले जनाएको छ।
लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका केही क्षेत्रमा अधिवेशनको कार्यक्रम प्रभावित भएको छ। काठमाडौंमा अधिवेशन स्थगित गरिएको भए पनि ललितपुरमा भने शनिबार नै क्षेत्रीय अधिवेशन सञ्चालन गरिएको छ।
कांग्रेस निर्वाचन समितिका अनुसार मौसम तथा स्थानीय परिस्थितिअनुसार आवश्यक परे असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न सकिने व्यवस्था गरिएको छ। यसले स्थगित भएका निर्वाचन क्षेत्रलाई समेत वैकल्पिक समयभित्र अधिवेशन सम्पन्न गर्ने बाटो खुला गरेको छ।
संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति गठनसँगै संघीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन हुनेछन्। पालिका सभापति र प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरू भने सम्बन्धित संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा पदेन सदस्य रहनेछन्। उनीहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था कांग्रेसको निर्वाचन प्रक्रियामा छ।
क्षेत्रीय कार्यसमितितर्फ सभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन्। त्यस्तै, एक जना महिलासहित दुई जना सहसचिव निर्वाचित हुनेछन् भने कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था छ। संघीय निर्वाचन क्षेत्रबाट महासमिति बैठकमा सहभागी हुने सदस्यसमेत चयन गरिनेछ।
प्रदेशसभा निर्वाचन क्षेत्रतर्फ ‘क’ र ‘ख’ दुवै क्षेत्रमा छुट्टाछुट्टै क्षेत्रीय कार्यसमिति गठन हुनेछ। सोही अधिवेशनबाट प्रदेश अधिवेशनका लागि आवश्यक प्रदेश प्रतिनिधि पनि चयन गरिने कांग्रेस निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको महाधिवेशन प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो। वडा तह हुँदै पालिका र प्रदेशसभा निर्वाचन क्षेत्र पार गर्दै संघीय निर्वाचन क्षेत्रस्तरमा पुगेको निर्वाचन प्रक्रिया अब क्रमशः प्रदेश र केन्द्रीय तहको अधिवेशनतर्फ अघि बढ्नेछ।
कांग्रेसले केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।
