२०८३, कार्तिक ९ गते

Oct 25 2026

२५ लाखको कारोबारमा उठ्यो गम्भीर प्रश्न : पूर्व अरनिको यातायातका तत्कालीन अध्यक्ष केदार क्षेत्रीमाथि आर्थिक अनियमितताको आरोप

२५ लाखको कारोबारमा उठ्यो गम्भीर प्रश्न : पूर्व अरनिको यातायातका तत्कालीन अध्यक्ष केदार क्षेत्रीमाथि आर्थिक अनियमितताको आरोप

शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • काठमाडौं । पूर्व अरनिको यातायात प्रा.लि.का तत्कालीन अध्यक्ष केदार क्षेत्रीको कार्यकालमा भएको भनिएको २५ लाख रुपैयाँको आर्थिक कारोबारलाई लिएर गम्भीर प्रश्न उठेको छ। कम्पनीको निर्णय, बैंकिङ कारोबार र भुक्तानी प्रक्रियासम्बन्धी कागजातमा देखिएको भनिएको असंगतिले आर्थिक अनियमितताको आशंका जन्माएको हो।
    स्रोतका अनुसार तत्कालीन अध्यक्ष क्षेत्री, सचिव प्रभुराम थापा र कोषाध्यक्ष राजु पौडेलको संलग्नतामा आर्थिक कारोबार भएको आरोप छ।
    प्राप्त विवरणअनुसार बैठक बसेर माइन्युटमै प्रभु इन्स्योरेन्सलाई २५ लाख रुपैयाँ भुक्तानी गर्ने निर्णय गरिएको थियो  तर कम्पनीको नियमित बैंक खाताबाट सोझै भुक्तानी गर्नुको सट्टा कल्याणकारी बचत तथा ऋण सहकारी संस्थामार्फत कारोबार गरिएको भनिएपछि प्रश्न उठेको हो।

    R@2.jpg
    undefined

    सबैभन्दा बढी प्रश्न उठेको विषय भनेको भुक्तानीको तरिका हो। निर्णयमा प्रभु इन्स्योरेन्सलाई एकमुष्ट २५ लाख रुपैयाँ भुक्तानी गर्ने भनिए पनि २०८० भदौ १ गते ९ लाख, ९ लाख र ७ लाख रुपैयाँका तीनवटा चेक काटिएको विवरण सार्वजनिक भएको छ।
    स्रोतले उपलब्ध गराएको  कागजातअनुसार ती चेकहरू कम्पनीको नाममा नभई व्यक्तिको नाममा काटिएको र त्यसपछि रकम अन्य प्रक्रियामार्फत अघि बढाइएको  छ।
    कम्पनीको नाममा रहेको आधिकारिक बैंकिङ प्रणालीबाट कारोबार हुनुपर्नेमा अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त नाममा सहकारीमा खाता खोली कारोबार गरिएको दाबीले पनि थप प्रश्न जन्माएको छ। अझ, राजेन्द्र मल्लको नाममा चेक काटिएको, अध्यक्ष केदार क्षेत्रीका निजी सचिव भनिएका दिनेश कार्कीलाई चेकको वाहक बनाइएको र त्यसपछि सहकारीबाट पुनः राजेन्द्र मल्लकै नाममा कुमारी बैंकको चेक काटिएको  विवरणले कारोबारको वास्तविक प्रकृतिमाथि प्रश्न उठाएको छ। यी विवरणहरू आधिकारिक कागजातबाट पुष्टि भएमा, कम्पनीको आर्थिक कारोबारको पारदर्शिता र निर्णय कार्यान्वयन प्रक्रियाबारे गम्भीर छानबिनको आवश्यकता देखिन्छ।

    r1.JPG
    २५ लाख रुपैयाँ एकमुष्ट भुक्तानी गर्ने निर्णय भएको अवस्थामा रकमलाई तीनवटा चेकमा विभाजन गर्नुको कारण के थियो भन्ने प्रश्न पनि उठेको छ। कम्पनीको खाताबाट सम्बन्धित संस्थालाई एकाउन्ट पेयी चेकमार्फत प्रत्यक्ष भुक्तानी गर्नुपर्ने अवस्थामा रकमलाई व्यक्तिको नाममा विभाजन गरेर कारोबार गरिएको हो भने त्यसको कानुनी तथा लेखापरीक्षण आधार के थियो ? भन्ने प्रश्न अहिले मुख्य बनेको छ।
    यही विषयलाई आधार बनाएर स्रोतले तत्कालीन अध्यक्ष क्षेत्रीको कार्यकालमा यस्ता अन्य आर्थिक कारोबारसमेत भएको दाबी गरेको छ। स्रोतको दाबीअनुसार यस्ता कारोबारको संख्या धेरै हुनसक्ने भएकाले सम्पूर्ण आर्थिक अभिलेख, बैंक स्टेटमेन्ट, सहकारी कारोबार, माइन्युट तथा भौचरको स्वतन्त्र लेखापरीक्षण आवश्यक देखिन्छ।
    २५ लाख रुपैयाँको निर्णयदेखि चेक काट्ने प्रक्रिया र रकमको अन्तिम भुक्तानीसम्मको सम्पूर्ण श्रृंखला पारदर्शी रूपमा सार्वजनिक भएमा वास्तविकता बाहिर आउने देखिन्छ।

    R4.JPG
    यस प्रकरणमा केदार क्षेत्री, प्रभुराम थापा र राजु पौडेलको वास्तविक भूमिका के थियो ? कम्पनीको रकम सहकारीमार्फत किन परिचालन गरियो ? व्यक्तिको नाममा चेक काट्नुको कारण के थियो ? र प्रभु इन्स्योरेन्सलाई भनिएको २५ लाख रुपैयाँ अन्ततः कसरी भुक्तानी भयो ? यी प्रश्नको स्पष्ट उत्तर सम्बन्धित पक्षबाट आउन बाँकी छ।
    त्यसैले उपलब्ध कागजात र कारोबार विवरणको आधिकारिक परीक्षण तथा सम्बन्धित पक्षको प्रतिक्रिया बिना कसैलाई दोषी ठहर गर्नु उचित हुँदैन  तर सार्वजनिक भएको भनिएको कारोबार विवरणले भने पूर्व अरनिको यातायात प्रा.लि.को तत्कालीन आर्थिक व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

    R3.JPG
    undefined

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij