काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई गएराति नियन्त्रणमा लिएको हो।
जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको भए पनि उजुरीमा उल्लेख गरिएको विषय वा पक्राउको औपचारिक अभियोगबारे प्रहरीले हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
प्रहरीले जबरालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ। पक्राउको कारण र उनीमाथि लाग्न सक्ने कानुनी कारबाहीबारे थप विवरण अनुसन्धानपछि मात्र खुल्ने देखिएको छ।
जबराले २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालका क्रममा २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।
महाभियोग प्रस्ताव पारित नभए पनि जबरा सर्वोच्च अदालतमा पुनः फर्किन पाएनन्। निलम्बनकै अवस्थामा उनको प्रधानन्यायाधीशको कार्यकाल समाप्त भएको थियो।
हाल भने पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ पर्नुको वास्तविक कारणबारे आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।
