२०८३, कार्तिक ९ गते

Oct 25 2026

इसेवाको कमान्ड अब निरज शर्माको हातमा

इसेवाको कमान्ड अब निरज शर्माको हातमा

रोज नेपाल
सोमवार, आश्विन १२ २०८३
रोज नेपाल
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ। नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा निरज शर्मा नियुक्त भएका छन् ।

    इसेवा सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले शर्मालाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । निर्णय सोमबारदेखि लागू भएसँगै शर्माले आजदेखि औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

    बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव बटुलेका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, रिटेल बैंकिङ तथा डिजिटल रूपान्तरणका क्षेत्रमा अनुभवी मानिन्छन् । उनले डिजिटल नवप्रवर्तन, रणनीतिक व्यवसाय विस्तार र ग्राहककेन्द्रित सेवाको विकासमा समेत काम गरिसकेका छन् ।

    इसेवा सञ्चालक समितिले शर्माको अनुभव र नेतृत्वले कम्पनीको आगामी रणनीतिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ । डिजिटल वित्तीय सेवाको विस्तारसँगै इसेवालाई थप सुदृढ बनाउँदै नयाँ प्रविधि र सेवामार्फत ग्राहकको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।

    चार वर्षे कार्यकालपछि जगदीश खड्काको बिदाइ

    यसैबीच, इसेवाका निवर्तमान सीईओ जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ । वि.सं. २०७९ असोज १२ गते सीईओको जिम्मेवारी सम्हालेका खड्काले आफ्नो कार्यकालमा इसेवाको सेवा र डिजिटल वित्तीय पहुँच विस्तारमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

    खड्काको कार्यकालमा इसेवामा दर्ता भएका प्रयोगकर्ताको सङ्ख्या १ करोड ४० लाखभन्दा बढी पुगेको छ भने मर्चेन्टको सङ्ख्या पनि ६ लाख नाघेको कम्पनीले जनाएको छ।

    उनको नेतृत्वमा डिजिटल कर्जा सुविधा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिङ्क, बिजनेस एप, इन्टेन्ट पे, क्यालेन्डर तथा इभेन्ट सेवा र विभिन्न इन्स्योरेन्स प्रोडक्टलगायतका सेवाहरू विस्तार भएका थिए ।

    त्यसैगरी, दृष्टिविहीन नागरिकलाई डिजिटल भुक्तानीमा सहज पहुँच दिलाउने उद्देश्यले ‘टकब्याक’ फिचर तथा नेपाली भाषामा एप सञ्चालनमा ल्याउने कामले पनि इसेवाको समावेशी डिजिटल सेवातर्फको प्रयासलाई थप बल दिएको कम्पनीको भनाइ छ ।

    सबै सधैँ सँगै भन्ने ब्रान्ड प्रतिबद्धतालाई केन्द्रमा राख्दै खड्काको कार्यकालमा भएका सेवा विस्तार र डिजिटल नवप्रवर्तनले कम्पनीको आगामी यात्राका लागि आधार तयार गरेको इसेवाले जनाएको छ ।

    अब निरज शर्माको नेतृत्वमा इसेवाले डिजिटल वित्तीय सेवाको विस्तार, प्रविधिगत नवप्रवर्तन र ग्राहककेन्द्रित सेवामा थप प्राथमिकता दिने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij