२०८३, आश्विन १ गते

Sep 17 2026

२० घन्टादेखि जाममा फसेका यात्रुलाई प्रहरीले बाँडे खाजापानी

२० घन्टादेखि जाममा फसेका यात्रुलाई प्रहरीले बाँडे खाजापानी

आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं । नारायणघाट-मुग्लिन सडक खण्डमा शुक्रबार साँझदेखि लगातार गइरहेको पहिरोले यात्रुहरू घन्टौं घन्टा जाममा बस्न बाध्य भएका छन्। त्यहाँको पहिरोले पृथ्वी राजमार्गका यात्रुसमेत जाममा फसेका छन्।

    काठमाडौंका सुरेश गजुरेललाई नागढुंगाबाट मुग्लिन पुग्न झन्डै २० घन्टा लाग्यो।

    गल्छीबाटै जाममा पर्न थालेका उनी २० घन्टापछि मुग्लिन कटेर आँबुखैरेनीतिर लागेका हुन्।

    ‘तुइन खोलामा पहिरो झरेर चितवनबाट गाडी आएका छैनन् भन्ने त सुनेको थिएँ। तर त्यसको असर पृथ्वी राजमार्गमा पनि परेको भन्ने मलाई हेक्का भएन, झन्डै २० घन्टा जाममा बस्नुपर्‍यो,’ पर्यटक पथ प्रदर्शक रहेका उनले भने।

    उनका अनुसार कैयन् यात्रु अहिले पनि बाटैमा अलपत्र छन्। गाडीमै बास बसेका कतिपय यात्रुले खाना खान पाएका छैनन्। पिउने पानीकै पनि समस्या छ।

    यसबीच चितवनको जिल्ला सुरक्षा समिति र स्थानीय व्यवसायी अहिले अलपत्र यात्रुलाई खाजा र पानी वितरणमा जुटेका छन्।

    चितवनको तुइन खोलानजिकै शुक्रबार साँझदेखि नै पहिरो खस्न सुरू भएको थियो। शुक्रबार राति र शनिबार दिनभरि पहिरो पन्छाउन प्रयत्न गरिएको थियो।

    यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ। यस सडक भएर गुड्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

    सडक डिभिजन भरतपुरका अनुसार तलबाट पन्छाउँदै जाने र माथिबाट पुनः पहिरो खस्ने क्रम नरोकिएपछि शनिबार दिनभरिको प्रयासले सार्थकता पाउन सकेन। रात परेपछि पहिरो पन्छाउने क्रम रोकिएको थियो।

    आइतबार बिहानैबाट तीनवटा उपकरण प्रयोग गरी दुवैतिरबाट पहिरो पन्छाइएको थियो। सडक डिभिजन भरतपुरका इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार अहिले करिब ५०–६० मिटरजति सडकको भागमा थुप्रिएको पहिरो पन्छाउन बाँकी छ। तर अहिले पनि पहिरो खस्ने क्रम चलिरहेको छ।

    पहिरो खस्ने क्रम रोकिने हो भने चार–पाँच घन्टामा खुलाउन सकिन्छ। तर पहिरोको प्रकृति हेर्दा थामिने अवस्था देखिँदैन।

    'पहिरो पन्छाउने क्रममा माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको अवस्था छ तर पनि हामी आज दिउँसोसम्म एकतर्फी भए पनि सडक आवागमन सञ्चालनमा ल्याउनको लागि प्रयासरत छौं,' सडक डिभिजन भरतपुरले भनेको छ।

    सडक डिभिजनका अनुसार पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ।

    करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण एक सय ६० मिटर सडक ढाकेको थियो भने १० मिटर चौडाइ र १६ मिटर उचाइ थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij