काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको अवस्थाबारे जानकारी लिन आयोगको टोली टेकु पुगेको थियो । तर, आयोगको टोलीलाई जबरासँग भेट्न नदिइएको भन्दै आयोगले आपत्ति जनाएको थियो ।
आयोगले आफ्नो अनुगमनमा अवरोध भएको विषयमा प्रहरी नेतृत्वसँग जानकारी माग्दै घटनाबारे छानबिन अघि बढाएको हो । आयोगको टोलीलाई करिब ४५ मिनेट प्रतीक्षा गराएर पनि भेट्न नदिइएको जनाइएको छ ।
यसै घटनाका सम्बन्धमा एसएसपी खड्कालाई बयानका लागि बोलाइएको हो । खड्काले भने आयोगको टोली आएकोबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए ।
