साल्जबर्ग, अष्ट्रिया।रसुवामा गत भदौमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित बनेका परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि अष्ट्रियामा रहेका नेपालीहरूले आर्थिक सहयोग जुटाएका छन्। व्यवसायी तथा समाजसेवी रामबहादुर विश्वकर्माको विशेष अगुवाइमा साल्जबर्गमा संकलन गरिएको १ हजार ७२० यूरो (करिब ३ लाख नेपाली रुपैयाँ) नेपाल सरकारको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा जम्मा गरिएको छ।
बाढी तथा पहिरोपीडितलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले विश्वकर्माले सुरुमा व्यक्तिगत रूपमा २० हजार रुपैयाँ गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक कोषमा जम्मा गरेका थिए। तत्पश्चात उनले आफ्ना परिवारका सदस्य, साथीभाइ र साल्जबर्गमा बसोबास गर्ने नेपालीहरूसँग समन्वय गरी थप सहयोग अभियान सञ्चालन गरेका हुन्।
सहयोग अभियानमा कसको कति योगदान ?
उक्त राहत कोष संकलन अभियानमा रामबहादुर विश्वकर्मा र राजु विश्वकर्माले व्यक्तिगत रूपमा २५० यूरो तथा बैंकमार्फत नेपाल रकम पठाउँदा लागेको ३० यूरो शुल्क गरी कुल २८० यूरो योगदान गरेका छन्। यसैगरी सोम कुमारी र हाइकोको खातामार्फत कुल ५७० यूरो संकलन भएको छ। जसमा: सोम कुमारी वि.क.: २०० यूरो प्रेमबहादुर वि.क.: २०० यूरो सोमबहादुर वि.क.: १०० यूरो राजेश वि.क.: ५० यूरो गोपाल वि.क.: २० यूरो त्यस्तै, प्रकाश खड्का र कृष्णबहादुर कामीले जनही १०० यूरो तथा अमृत कुमार वि.क., पुष्पा रसायली वि.क., सम्झना वि.क. र जय (भीमसिं) ले जनही ५० यूरो सहयोग गरेका छन्। यस्तै रामचन्द्र वि.क., रोशन वि.क., मनीषा वि.क., सुनिल वि.क., प्रकाश सुनार, सरीना वि.क., आयुश विश्वकर्मा, अमृत पौडेल वि.क., दिपेन्द्र सुनार, बुद्धीमान वि.क., लक्ष्यबहादुर वि.क., राम वि.क., राजु वि.क., रीनु वि.क. र प्रेमबहादुर वि.क. ले जनही ३० यूरोका दरले राहत कोषमा रकम योगदान गरेका छन्।
तीन दशकदेखि अष्ट्रियामा नेपाली पहिचान र कला-संस्कृतिको प्रवर्द्धन
मूल घर पर्वतको चित्रे भई हाल साल्जबर्गमा नेपाली रेष्टुरेन्ट ‘काठमाण्डौ एण्ड बार’ सञ्चालन गर्दै आएका रामबहादुर विश्वकर्मा विगत तीन दशकदेखि अष्ट्रियामा क्रियाशील छन्। अष्ट्रिया जानुअघि उनी आफ्नै जन्मथलो पर्वतको श्री दुर्गा भवानी प्राथमिक विद्यालयका प्रधानाध्यापक थिए। तत्कालीन पञ्चायती व्यवस्थाको राजनीतिक तथा सामाजिक विभेदका कारण उनले शिक्षण पेशा छाडेर प्रवासिनु परेको थियो। रेष्टुरेन्ट व्यवसायसँगै उनले अष्ट्रियामा नेपाली कला, संस्कृति, खाना र पहिचानको प्रचारप्रसारमा अहम् भूमिका खेल्दै आएका छन्। उनको भान्सामा बनेका नेपाली परिकारको स्वाद लिन स्वदेश तथा विदेशका प्रतिष्ठित व्यक्तित्वहरू, राजनीतिज्ञ, मन्त्रीहरू, नेपाली तथा इन्डियन राजदूतहरू, पत्रकार, संविधानविद् र नेपाली खानाका पारखीहरू पुग्ने गर्छन्।
अष्ट्रियामा समाज निर्माण र इन्सब्रुक (Innsbruck) मा दह्रो उपस्थिति
अष्ट्रियाको इन्सब्रुक (Innsbruck) शहरमा बसोबास गर्ने करीब ८०% नेपालीहरू रामबहादुरकै परिवार तथा नातेदारहरू रहेका छन्। उहाँहरुकै सक्रियता र सहकार्यमा अष्ट्रियामा विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू सफल हुँदै आएका छन्। सन् २०१८ मा इन्सब्रुक (Innsbruck) मा अष्ट्रियाका प्रथम महामहिम राजदूत प्रकाशकुमार सुवेदीको आयोजनामा भएको 'NEPA Everest Day' कार्यक्रममा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुन र वनमन्त्री शक्तिबहादुर बस्नेत लगायतका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सो सभाको सम्पूर्ण व्यवस्थापन, उद्घोषण, नृत्य तथा सांस्कृतिक कार्यक्रमहरूमा ८० प्रतिशत सहभागिता रामबहादुरकै परिवारको रहेको थियो। उक्त योगदानका लागि उच्चपदस्थ अतिथिहरूले रामबहादुर र उनको परिवारलाई विशेष धन्यवाद समेत ज्ञापन गरेका थिए।
दलित उत्थान र युरोपमा संगठनात्मक योगदान
सामाजिक सेवा र भाइचारा अभिवृद्धिका अलावा युरोपमा छरिएर रहेका दलित समुदायलाई एकत्रित गर्दै उनीहरूका हक-अधिकार र समस्या समाधानका लागि पनि रामबहादुर निरन्तर क्रियाशील छन्। सोही उद्देश्यका साथ सन् २०१३ मा पोर्चुगलको राजधानी निसबोनमा रामबहादुर विश्वकर्माको संस्थापक अध्यक्षतामा 'नेपाल उत्पीडित जातीय संगठन युरोप' (Nepal Oppressed Society Europe - NOPS) को गठन गरिएको थियो। यस संस्थाको दोस्रो युरोप महाधिवेशन सन् २०१६ मा बेल्जियममा तत्कालीन मन्त्री विश्वेन्द्र पासवानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। यस्तै, सन् २०२६ मार्च २१ तारिखमा बेल्जियममा NOPS को अर्को विशेष कार्यक्रम समेत सम्पन्न भएको छ। प्रवासको व्यस्त जीवनका बाबजुद पनि मातृभूमिमा आइपर्ने विपत्तिमा मलम लगाउन र नेपाली समाजको निर्माण तथा दलित उत्थानमा अहोरात्र खटिने रामबहादुर विश्वकर्मा र उनको परिवारको सामाजिक भूमिका अष्ट्रियास्थित नेपाली समुदायमा अत्यन्त प्रशंसनीय रहेको छ।
