इटहरी । सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला–२०८३’ सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा बुधबारदेखि मेला सञ्चालनमा आएको हो ।
इटहरीस्थित सोल्टी होटलमा ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ नारासहित सुरु भएको मेला असोज २० गतेसम्म चल्नेछ ।
कोशी प्रदेशका युवालाई लक्षित गरी आयोजना गरिएको मेलाले स्वदेशमै रोजगारीका अवसर खोज्न, रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीच सम्पर्क स्थापित गर्न तथा सीपमूलक तालिमबारे जानकारी र परामर्श उपलब्ध गराउने उद्देश्य राखेको छ ।
मेलामा विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा रोजगारदाताका ६५ वटा स्टल राखिएका छन् । रोजगारीको खोजीमा रहेका युवाले मेलास्थलमै पुगेर रोजगारीका अवसरबारे जानकारी लिनुका साथै सीप विकास र करिअरसम्बन्धी परामर्शसमेत लिन सक्नेछन् ।
