काठमाडौँ । अमेरिकी सेना इराकबाट पूर्ण रूपमा बाहिरिएको छ । बुधबार इराकको अन्तिम सैन्य अड्डाबाट अमेरिकी सेना बाहिरिएसँगै सन् २००३ देखि जारी अमेरिकी सैन्य उपस्थितिको लामो अध्याय औपचारिक रूपमा अन्त्य भएको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, अमेरिका र इराकबीच सन् २०२४ मा भएको सहमतिअनुसार अमेरिकी नेतृत्वको गठबन्धनको सैन्य मिसन अन्त्य गर्ने योजना बनाइएको थियो ।
योजनाअनुसार सन् २०२५ सम्ममा अधिकांश गठबन्धन सेना फिर्ता गर्ने र बाँकी सेना सन् २०२६ को सेप्टेम्बरसम्म हटाउने सहमति भएको थियो ।
अमेरिकी सेना सन् २००३ मा तत्कालीन राष्ट्रपति सद्दाम हुसेनको सरकार हटाउन गरिएको अमेरिकी नेतृत्वको सैन्य कारबाहीपछि इराक पुगेको थियो ।
सन् २०११ को अन्त्यमा अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भए पनि सन् २०१४ मा इस्लामिक स्टेटको प्रभाव बढेपछि पुनः इराक फर्किएको थियो । त्यसपछि अमेरिकी नेतृत्वको गठबन्धनले इराकी सुरक्षाकर्मीलाई तालिम, गुप्तचर सूचना, निगरानी तथा हवाई सहयोग प्रदान गर्दै इस्लामिक स्टेटविरुद्धको अभियानमा सहयोग गरेको थियो ।
अमेरिकी सेना फिर्तापछि भने इराकको सुरक्षा अवस्थाबारे प्रश्न उठेको छ । इराकी सुरक्षा अधिकारी तथा विश्लेषकहरूले अमेरिकी उपस्थितिको अन्त्यसँगै इरान समर्थित सशस्त्र समूहको प्रभाव बढ्न सक्ने र इस्लामिक स्टेटका स्लीपर सेलले पुनः गतिविधि बढाउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी सेना फिर्तीलाई केही इराकी पक्षले राष्ट्रिय सार्वभौमसत्तासँग जोडिएको सकारात्मक कदमका रूपमा हेरेका छन् । इरान समर्थित सशस्त्र समूहहरूले समेत अमेरिकी सेना फिर्तीलाई आफ्नो विजयका रूपमा प्रस्तुत गरेका छन् ।
