काठमाडौँ । नजिकिँदै गरेका ठूला चाडपर्व दसैँ र तिहारलाई सुरक्षित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।
भद्रकालीस्थित परिसरको कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत चाडपर्व अवधिभर काठमाडौँ जिल्लामा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गर्ने घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक (SP) दानबहादुर थापाले पर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि बर्दीधारी र सादा पोसाक दुवै प्रकारका प्रहरी टोली खटाइने जानकारी दिए ।
उनले बजार र बस्तीको सुरक्षा अवस्था एवं जोखिमको विश्लेषण गरी आवश्यकता अनुसार सुरक्षाकर्मीको सङ्ख्या थप गर्न सकिने समेत स्पष्ट पारे ।
चोरी, लुटपाट र सार्वजनिक दुर्व्यवहार मुख्य चुनौती
प्रहरीले चाडपर्वका बेला हुन सक्ने चोरी, पकेटमारी, ठगी, डकैती तथा सार्वजनिक स्थलहरूमा हुन सक्ने दुर्व्यवहारलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा वर्गीकरण गरेको छ ।
सार्वजनिक चोक तथा सडकहरूमा सर्वसाधारणको झोला वा गरगहना तान्ने जस्ता उच्छृङ्खल गतिविधिलाई रोक्न प्रहरी विशेष रूपमा सतर्क रहने उपरीक्षक थापाले बताए ।
२२ प्रकारका ड्युटी र नाकामा तालिमप्राप्त कुकुर
चाडपर्वको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले २२ वटा फरक-फरक विधामा ड्युटी विभाजन गरी जनशक्ति परिचालन गर्नेछ ।
काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने नाकाहरूमा तालिमप्राप्त कुकुरहरूको सहयोगमा कडा जाँच गरिनुका साथै मुख्य बजार, बसपार्क र सडकहरूमा सीसीटीभी (CCTV) क्यामेरा मार्फत चौबीसै घण्टा निगरानी राखिने योजना प्रहरीले बनाएको छ ।
