काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको छ। शनिबार दिउँसोदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रतिनिधिहरूको नाम दर्ता गर्ने व्यवस्था मिलाइएको हो।
प्रतिनिधिहरूलाई सहज हुने गरी विभिन्न प्रदेशका लागि छुट्टाछुट्टै दर्ता कक्ष सञ्चालनमा ल्याइएको कांग्रेसले जनाएको छ। दर्ता पूरा गरेपछि प्रतिनिधिहरूलाई महाधिवेशन प्रयोजनका लागि तयार पारिएको झोला उपलब्ध गराइनेछ।
उक्त झोलामा पार्टीको विधानसहित आवश्यक लेखन सामग्री, कपी र कलमलगायतका सामग्री राखिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन आइतबार काठमाडौंको खुलामञ्चमा गर्ने तयारी छ। उद्घाटनपछि असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुनेछ।
त्यसैगरी, असोज २१ र २२ गते महाधिवेशन प्रतिनिधिहरू निर्वाचन प्रक्रियामा सहभागी हुने कार्यक्रम तय गरिएको छ। महाधिवेशन नजिकिँदै जाँदा पार्टी कार्यालय सानेपा तथा काठमाडौंमा कांग्रेसका नेता–कार्यकर्ताको चहलपहलसमेत बढेको छ।
