काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् ।
भ्रमणका क्रममा उनले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बंगासँग उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ ।
वासिङ्टन डी.सी. पुगेका वाग्लेलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।
आर्थिक सहयोग र सुधारका विषयमा छलफल
अर्थमन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री बेसेन्ट र विश्व बैंकका अध्यक्ष बगासँग छुट्टाछुट्टै भेट गर्नेछन् । भेटमा नेपाल–अमेरिका आर्थिक सहकार्य, बृहत् आर्थिक सुधार तथा वित्तीय पारदर्शितासम्बन्धी विषय प्राथमिकतामा रहने जनाइएको छ ।
नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउन भइरहेका प्रयासबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।
भोटेकोशी पुनर्निर्माणका लागि सहयोग खोजिने
हालैको बाढीबाट भोटेकोशी क्षेत्रमा क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि थप अन्तर्राष्ट्रिय सहयोग जुटाउने विषयलाई पनि भ्रमणमा महत्त्व दिइनेछ ।
विशेषगरी सडक, विद्युत् प्रसारण लाइनलगायत अत्यावश्यक पूर्वाधार पुनर्निर्माण र भविष्यमा विपद् सहन सक्ने विकासका लागि सहयोग परिचालनबारे विश्व बैंक तथा अमेरिकी पक्षसँग छलफल हुने कार्यक्रम छ ।
निजी लगानी भित्र्याउने प्रयास
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) का उच्च अधिकारीसँग पनि भेट गर्नेछन् । साथै, निजी क्षेत्रका प्रमुख लगानीकर्तासँग नेपालमा लगानीका सम्भावना र अवसरबारे संवाद गर्ने कार्यक्रम रहेको छ ।
पूर्वाधारमा विकास साझेदार र निजी क्षेत्रको लगानी बढाएर रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तार गर्नु भ्रमणको अर्को उद्देश्य रहेको जनाइएको छ ।
नेपालको आर्थिक सुधार, विपद्पछिको पुनर्निर्माण र विदेशी लगानी आकर्षित गर्ने विषयमा हुने यी छलफलले कस्तो परिणाम दिन्छन् भन्ने चासो बढेको छ ।
