काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पार्टीको सचिवालय बैठकमा १८ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
प्रतिवेदनमा पछिल्लो राजनीतिक संकट, जेनजी आन्दोलनपछि विकसित परिस्थिति, संविधानको औचित्य तथा राज्य सञ्चालनको संरचनाबारे विभिन्न विषय उठाइएको छ ।
साहले वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकार र अन्तरिम संविधान आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उनका अनुसार जेनजी आन्दोलनले उठाएका मुख्य मुद्दालाई सम्बोधन गर्न पनि नयाँ राजनीतिक तथा संवैधानिक व्यवस्था आवश्यक छ ।
प्रतिवेदनमा संविधान र वर्तमान सरकारबीच संवैधानिक अन्तरविरोध देखिएको साहको दाबी छ ।
प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बन्ने अवस्थाले संविधानको प्रावधान र सरकार गठनको प्रक्रियामाथि प्रश्न उठाएको उनको तर्क छ ।
साहले पुरानै संवैधानिक व्यवस्थाभित्र मात्रै संकट समाधान खोज्दा थप जटिलता आउन सक्ने भन्दै अन्तरिम सरकार र अन्तरिम संवैधानिक व्यवस्थामार्फत राजनीतिक निकास खोज्नुपर्ने धारणा राखेका छन् ।
साथै आन्दोलनका मुद्दा, राज्य सञ्चालनको संरचना र संवैधानिक व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने उल्लेख गरेका छन् ।
आजपाले उक्त प्रतिवेदनमाथि छलफल गर्दै आगामी राजनीतिक कार्यदिशा तय गर्ने जनाएको छ ।
केन्द्रीय कमिटी बैठक आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने बताइएको छ ।
