काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै उनीमाथि भइरहेको अनुसन्धान र म्याद थपको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । अदालतले विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूरको जाहेरीमा भइरहेको छ ।
अनुसन्धान र काठमाडौँ जिल्ला अदालतबाट भएको म्याद थप सम्बन्धी सक्कल मिसिल (ओरिजिनल फाइल) इजलासमा देखाई फिर्ता लैजाने गरी महान्यायाधि वक्ताको कार्यालयमार्फत झिकाउन निर्देशन दिएको छ ।
यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कानुनी आधार र कारणसहित ४८ घण्टाभित्र लिखित जवाफ पेस गर्न विपक्षका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई पक्राउ गरी विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धान गरिरहेको छ ।
प्रसाईंमाथि युट्युबमार्फत सांसद खतिवडा र उनका परिवारमाथि अपमानजनक टिप्पणी गरेको आरोप छ । उनीविरुद्ध गैरकानुनी हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो ।
