२०८३, आश्विन १ गते

Sep 17 2026

अब पदयात्रा अनुमति पूर्ण रूपमा अनलाइनमार्फत

अब पदयात्रा अनुमति पूर्ण रूपमा अनलाइनमार्फत

शनिवार, कार्तिक २ २०८२
शनिवार, कार्तिक २ २०८२
  • काठमाडौं । अध्यागमन विभागले पदयात्रा अनुमति  सेवा अबदेखि पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत मात्र उपलब्ध गराउने भएको छ।

    शुक्रबार सूचना जारी गर्दै विभागले ट्रेकिङ एजेन्सीका प्रतिनिधिहरूले प्रत्यक्ष सम्पर्क गरेर अनुमति लिँदा सुशासनमा चुनौती थपिएको र कतिपय एजेन्सीका कर्मचारीहरू बिचौलिया बनेर अवैध क्रियाकलापमा संलग्न भएको तथ्य फेला परेको जनाएको छ।

    विभागले यस्तो क्रियाकलापलाई कडा रूपमा निषेध गर्दै पारदर्शी, उत्तरदायी र निष्पक्ष सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त समेत गरेको छ। 

    यसका लागि सबै सेवाग्राही एजेन्सीहरूले आफ्नो एजेन्सी पोर्टलमार्फत मात्र पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ।

    विभागका अनुसार एजेन्सीहरूले अनलाइनमार्फत पेस गरेका निवेदनमा एक कार्यदिनभित्र कारबाही गरिनेछ।

    दिउँसो ३ बजेपछि दर्ता भएका निवेदनहरूमा भने अर्को कार्यदिनको सुरूवातमा कारबाही हुने र राजस्व भुक्तानी पूरा भएका आवेदनको अनुमति सोही समयमा अनलाइन पोर्टलमै उपलब्ध हुने व्यवस्था गरिएको छ।

    अनलाइन प्रणालीको प्रयोगमा कुनै समस्या परेमा पोर्टलमा उपलब्ध मोबाइल नम्बर वा ह्वाट्स एपमार्फत् सम्पर्क गर्न विभागले भनेको छ। 

    सेवाग्राहीको चापका कारण फोन तुरून्तै उठ्न नसकेमा सन्देश पठाउन विभागले आग्रह गरेको छ।

    साथै, सार्वजनिक बिदा र कार्यालय समयबाहेक उद्धारबाहेकका अन्य नियमित सेवाहरू उपलब्ध नहुने जनाएको छ।

    विभागले आवेदन अस्वीकार गर्ने अवस्थाबारे समेत स्पष्ट पारेको छ। कागजात अपूरा वा त्रुटिपूर्ण भएमा अनुमति अनलाइन प्रणालीमै अस्वीकृत  गरिने भएकाले एजेन्सीहरूले सबै आवश्यक कागजात, प्रक्रिया र शुल्क ठीकसँग बुझेर मात्रै आवेदन पेश गर्न विभागले ध्यानाकर्षण गराएको छ।

    विभागले सुशासन, पारदर्शिता र सेवा सहजताका लागि ल्याइएको यो प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै ट्रेकिङ एजेन्सीलाई अनलाइन प्रणालीको पूर्ण प्रयोग गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij