काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकले घरदैलोमा सरकार भएको अनुभूति गर्ने गरी काम गर्न अनुरोध गर्नुभएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सम्बोधन गर्दै भन्नुभयो, ‘भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूत गर्न तथा आम नागरिकमा राज्यको अनुभूति दिलाउन सार्वजनिक सेवा प्रवाह चुस्त–दुरुस्त हुनुपर्दछ । सरकारी संयन्त्रको सेवाप्रवाहमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवाप्रवाहको व्यवस्था मिलाउन सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने पनि मेरो विश्वास छ ।’
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि राष्ट्रपति पौडेलले नवनिर्वाचित सांसदलाई पहिलो पटक सम्बोधन गर्नुभएको हो । शुक्रबार सिंहदरबारस्थित सङ्घीय संसद् बैठकको कक्षमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको हो ।