काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्ने गरी पहल भइरहेको जानकारी दिएका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश कमिटीले नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको क्यालेण्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै नेपालले त्यसको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए । उनले निर्वाचनमा कार्यकर्ताहरूको सक्रियता र इमानदारीबारे प्रश्न उठाउँदै आत्ममन्थन गर्न आग्रह गरे ।
‘केन्द्रीय संयोजन कमिटी ४५ सदस्यीय छ । यो कमिटीले अब सात दिनभित्र बैठक बसेर छलफल गरी आफ्ना धारणा प्रस्तुत गर्नेछ,’ नेपालले भने, ‘राष्ट्रिय समस्या, देशले भोगिरहेका चुनौती, राजनीतिक संकट, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनले सामना गर्नुपरेका समस्याबारे सदस्यहरूले आफ्ना विचार राख्नुभएको छ । ती सबै विचारको मन्थन गरी हामी निष्कर्षमा पुग्ने छौं ।’
नेपालले कम्युनिष्टहरूले २००७ सालदेखि नै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै कम्युनिष्ट नै सच्चा देशभक्त भएको दाबी गरे ।
‘अब एकताको भावनाका साथ एकीकृत पार्टीको रूपमा अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘हामी २६ वटा घटकसहित एकीकृत पार्टी निर्माणको प्रक्रियामा छौं ।’