२०८३, आश्विन १ गते

Sep 17 2026

इस्लामावाद वार्ता: अमेरिका र इरानबीच स्थायी शान्ति सम्झौताका लागि निर्णायक छलफल जारी

इस्लामावाद वार्ता: अमेरिका र इरानबीच स्थायी शान्ति सम्झौताका लागि निर्णायक छलफल जारी

रोज नेपाल
आइतवार, चैत्र २९ २०८२
रोज नेपाल
आइतवार, चैत्र २९ २०८२
  • इस्लामावाद। झण्डै पाँच दशक लामो कूटनीतिक गतिरोध र हालैको तनावपूर्ण युद्धपछि अमेरिका र इरानका उच्च अधिकारीहरूबीच पाकिस्तानको राजधानी इस्लामावादमा निर्णायक वार्ता भइरहेको छ।

    सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक दुई देशका शीर्ष नेतृत्व प्रत्यक्ष वार्ताको टेबुलमा बस्नुलाई विश्व राजनीतिमा एउटा ठूलो ‘ब्रेकथ्रु’ मानिएको छ।

    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको मध्यस्थतामा इस्लामावादको ‘सेरेना होटल’ मा यो वार्ता चलिरहेको छ। वार्तामा अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्स र इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बागेर गालिबाफ ले आ-आफ्नो टोलीको नेतृत्व गरिरहेका छन्।

    दुई दिनदेखि जारी यो संवादमा मुख्यतया चारवटा एजेन्डामा केन्द्रित भएर छलफल भइरहेको बुझिएको छ। दुई हप्ताअघि भएको अस्थायी युद्धविरामलाई औपचारिक सन्धिमा बदल्दै पूर्ण रूपमा युद्ध अन्त्य गर्ने, हर्मुजजलमार्गमा इरानको भूमिका र अन्तर्राष्ट्रिय व्यापारको सुरक्षाको विषयमा दुवै पक्षबीच गम्भीर रस्साकस्सी चलिरहेको छ।

    अमेरिकाले इरानको आणविक कार्यक्रममा कडा निगरानीको सर्त राखेको छ भने इरानले आफ्नो सार्वभौमिकताको रक्षा हुनुपर्ने अडान लिएको छ।

    कतारमा रोक्का गरिएको इरानी अर्बौं डलरको कोष फुकुवा गर्ने विषयमा सहमति नजिक पुगेको स्रोतले जनाएको छ।

    यो वार्ताको प्रत्यक्ष असर विश्वको ऊर्जा बजारमा देखिएको छ। वार्ता सकारात्मक दिशामा अघि बढेको समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। पश्चिमा शक्तिहरूको बढ्दो प्रभाव र मध्यपूर्वको सुरक्षा सन्तुलनका लागि यो वार्तालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

    दक्षिण एसियाली भू-राजनीतिमा पाकिस्तानले खेलिरहेको यो मध्यस्थकर्ताको भूमिकालाई चीन र रुस लगायतका देशहरूले पनि नजिकबाट नियालिरहेका छन्। “यो केवल दुई देशको कुरा मात्र होइन, यसले समग्र विश्व शान्तिको मार्ग तय गर्नेछ,” पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    यो वार्ता आज रातिसम्म चल्ने अपेक्षा गरिएको छ। यदि दुवै पक्षले ‘शान्ति दस्तावेज’ मा हस्ताक्षर गरेमा यो २१ औँ शताब्दीकै सबैभन्दा महत्वपूर्ण कूटनीतिक सफलता हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij