काठमाडौं । मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ । हाम्रो बालापन नेपालद्वारा सोमबार आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा धनन्जय रेग्मीले बालबालिकाको समग्र विकासका लागि अभिभावक, शिक्षक र समाजका सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।
शिक्षकको एउटा उत्प्रेरणा वा शब्दले आफ्नो जिवनमा पुरै परिवर्तन ल्याएको उदाहरण दिँदै अभिभावक र शिक्षकको सकारात्मक व्यवहारले बालबालिकाको जीवनमा परिवर्तन ल्याउन ठुलो भूमिका खेल्ने उल्लेख गरे । साथै ‘कोमल अभिभावकत्व’ पुस्तकले पनि अभिभावकलाई बालबालिकाको मनोविज्ञान बुझ्न र सकारात्मक अभिभावकत्व अभ्यास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
उनले सामान्य किसिमको तनावले समेत बालबालिकाको मानसपटलमा गम्भीर असर पार्न सक्ने उल्लेख गर्दै अभिभावकले उनीहरूप्रति सधैं माया, ममता र स्नेह देखाउनु अत्यावश्यक रहेको बताए।
‘बालबालिकाहरू कोमल मनका हुन्छन्, उनीहरूको क्षमता विकासका लागि सकारात्मक वातावरण सिर्जना गर्नु र सिकाउने जिम्मेवारी अभिभावकको हो,’ उनले भने ।
पुस्तकका लेखक थापाले विगत २१ वर्षदेखि शिक्षक, प्रधानाध्यापक र प्रशिक्षकको भूमिकामा रही काम गर्दा भोगेका विषय वस्तु, अनुभव र अनुसन्धानका आधारमा पुस्तक तयार पारेको बताइन । उनले बालबालिकाको भावनात्मक, मानसिक तथा सामाजिक विकासमा अभिभावकको भूमिकालाई केन्द्रमा राखेर पुस्तक लेखेको बताइन् ।
थापाले आफूले बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको अनुभवलाई पुस्तकमा समेटेको भन्दै देशका विभिन्न स्थानमा भ्रमणका क्रममा बालबालिका र अभिभावकबीच देखिएका व्यवहारिक समस्या, चुनौती र समाधानका उपायहरूलाई समावेश गरिएको उनको भनाइ थियो।
‘बालबालिकालाई गर्ने व्यवहार, उनीहरूलाई रिझाउने र सिकाउने तरिका यस पुस्तकमा समेटिएको छ, जसले अभिभावक बालबालिकाबीचको सम्बन्ध अझ सुदृढ बनाउनेछ,’ उनले भनीन्।
लेखक थापाले बाल मनोविज्ञान, अभिभावकको भूमिका, बालबालिकाको भावनात्मक विकास तथा उनीहरूसँग गरिने व्यवहारका विभिन्न पक्षलाई सरल भाषामा व्याख्या समेत गरेकी थिईन् । आधुनिक समाजमा अभिभावकत्वको शैलीमा आएको परिवर्तन र त्यसले बालबालिकामा पार्ने प्रभावबारे पुस्तकमा विभिन्न अनुभव र अध्ययन समेटि ७४ परिच्छेदमा तयार पारिएको छ ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ समाचारदाता एवं शिक्षा पत्रकार प्रकाश सिलवालसहित तीन जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकार सिलवालसहित समाजसेवी पासाङकाजी शेर्पा र बालमनोविद् डा .गङ्गा पाठक रहेका छन् ।
उनीहरूलाई शिक्षा तथा समाजसेवाको क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानका लागि सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा अभिभावक, शिक्षाविद्, मनोविद् तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। “कोमल अभिभावकत्व” पुस्तकले अभिभावकलाई व्यवहारिक मार्गदर्शन प्रदान गर्दै बालमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
