काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । दलको नेताका लागि उम्मेदवारी दर्ता र निर्वाचन आज नै हुने तय भएको छ । उम्मेदवारी दर्ताका लागि शुक्रबार दिउँसो ३ बजेदेखिको समय तोकिएको छ । निर्वाचनका लागि भने शुक्रबार अपराह्न ५ बजेदेखिको समय तोकिएको छ ।
अहिलेसम्म नेतामा ३ सांसद आकाङ्क्षी रहेको कांग्रेस नेताहरू बताउँछन् ।
भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दलको नेताका लागि दाबी प्रस्तुत गर्दै आफ्नो पक्षमा माहौल बनाउने प्रयास गरिरहेका छन् ।
कांग्रेसबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ जितेका १८ र समानुपातिक प्रणालीबाट सांसद भएका २० गरी ३८ सांसद छन् ।
पछिल्लो समय विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर भन्दै दुई गुटमा विभक्त कांग्रेसमा केसी र आचार्य विशेष महाधिवेशन पक्षधर (अहिलेको संस्थापन) र आङ्देम्बे नियमित महाधिवेशन पक्षधर हुन् । दाबी गर्नेमध्ये आचार्यले रसुवाबाट प्रत्यक्ष निर्वाचन जितेका थिए भने आङदेम्बे र केसी समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।
