काठमाडौं। नेपालको चिया यात्राले करिब डेढ शताब्दी पार गरिसकेको छ। नेपाली माटोको सुगन्ध बोकेको चियाले विश्वभर चम्किलो पहिचान बनाओस् भन्ने कामनासहित आज राष्ट्रिय चिया दिवस मनाइँदैछ।
नेपालमा प्रत्येक वर्ष वैशाख १५ गते ‘राष्ट्रिय चिया दिवस’ मनाइन्छ । यस अवसरमा नेपाली चियाको इतिहास, उत्पादन, योगदान र चुनौतीबारे चर्चा गर्दै यसको संरक्षण र प्रवद्र्धनमा ध्यान केन्द्रित गरिन्छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उपलब्ध गराएको आर्थिक वर्ष २०८१/८२ को पछिल्लो तथ्याङ्क अनुसार नेपालमा चिया खेतीको आयतन र उत्पादन दुवैमा सुधार देखिएको छ ।
हाल नेपालभर कुल २० हजार ६०२ हेक्टर जमिनमा चिया खेती भइरहेको छ । यो क्षेत्रफलबाट वार्षिक २ करोड ६१ लाख २३ हजार १११ किलो तयारी चिया उत्पादन भएको छ ।
चिया क्षेत्रमा १५ हजार १३२ जना साना कृषकहरू प्रत्यक्ष रूपमा आबद्ध छन् । देशभर १७० वटा ठुला टि-स्टेट र साना तथा मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्रहरू सञ्चालनमा रहेका छन् ।
चिया बगानदेखि प्रशोधन केन्द्रसम्म गरी नेपालमा करिब ६० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । यसले विशेष गरी ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि चलायमान बनाउन ठुलो भूमिका खेलेको छ ।
नेपालको चिया उत्पादनको मुख्य केन्द्र कोशी प्रदेश हो । तथ्याङ्क अनुसार झापा जिल्ला उत्पादनको हिसाबले सबैभन्दा ठुलो जिल्ला हो । झापामा मात्र १० हजार ३४० हेक्टर जमिनमा खेती भई १ करोड ९५ लाख ६६ हजार ७९५ केजी चिया उत्पादन भएको छ, जसको ठुलो हिस्सा सिटिसी चियाको छ ।
त्यसैगरी इलाम जिल्ला अर्थोडक्स र ग्रीन-टीका लागि प्रख्यात छ । इलाममा ७ हजार ३०९ हेक्टर जमिनबाट ६२ लाख ९१ हजार ३७३ केजी चिया उत्पादन भएको छ । इलाममा साना किसानहरूको सहभागिता सबैभन्दा बढी ७ हजार ६७४ जना रहेको छ ।
पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ जस्ता पहाडी जिल्लाहरूले पनि गुणस्तरीय अर्थोडक्स चिया उत्पादनमा आफूलाई अब्बल सावित गरेका छन् । पछिल्लो समय भोजपुर, दोलखा, नुवाकोट र कास्की जस्ता जिल्लाहरूमा पनि व्यावसायिक चिया खेती विस्तार भइरहेको छ ।
नेपाली चियाको सबैभन्दा सबल पक्ष यसको निर्यात हो । बोर्डको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्र नेपालले १ करोड ५५ लाख ९८ हजार ६६० किलो चिया निर्यात गरेको छ । यसबाट नेपालले ४ अर्ब ५९ करोड ८ लाख ५६ हजार रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ ।
तुलनात्मक रूपमा चियाको आयात भने निकै न्यून छ । सोही अवधिमा नेपालमा १ लाख १३ हजार ३७२ किलो चिया मात्र आयात भएको देखिन्छ, जसको मूल्य ९ करोड २ लाख ९० हजार रुपैयाँ रहेको छ ।
विगत ६ वर्षको निर्यात अवस्थालाई हेर्दा २०७५/७६ देखि २०८१/८२ सम्म निर्यातको परिमाण र मूल्यमा क्रमिक वृद्धि भएको देखिन्छ । २०७५/७६ मा ३ अर्ब २० करोडको निर्यात भएकोमा अहिले त्यो बढेर साढे ४ अर्ब माथि पुग्नुले नेपाली चियाको माग विश्व बजारमा बढ्दै गएको पुष्टि गर्छ ।
नेपाली चिया क्षेत्रले केही गम्भीर चुनौतीहरूको सामना पनि गरिरहेको छ । बोर्डको प्रतिवेदन अनुसार नेपालबाट निर्यात हुने कुल चियामध्ये ८६ प्रतिशत हिस्सा भारतमा जाने गरेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा साढे ४ अर्बको चिया निर्यात भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार गत आर्थिक वर्षमा पछिल्लो ७ वर्ष यताकै धेरै चिया निर्यात भएको हो । बोर्डका कार्यकारी निर्देशक फाइन्द्र राज पाण्डेले गत आवमा १ करोड ५६ लाख केजी चिया निर्यात गरेर नेपालले ४ अर्ब ५९ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ । यसअघिका वर्षहरु आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब २९ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख केजी चिया निर्यात भ्इको थियो ।
त्यसयताका वर्षहरुमा आव २०७६/७७ मा २ अर्ब ७८ करोड रकम बराबरको १ करोड ११ लाख केजी, आव २०७७/७८ मा ३ अर्ब ७९ करोड रुपैया बराबरको १ करोड १९ लाख केजी, आव २०७८/७९ मा ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको १ करोड २४ लाख केजी, आव २०७९/८० मा ३ अर्ब ९३ करोडरुपैयाँ बराबरको १ करोड ६५ लाख केजी र आव २०८०/८१ मा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ करोड ३९ लाख केजी चिया निर्यात भएको छ ।
त्यस्तै, गत आर्थिक वर्ष २०८१र८२ मा ९ करोड रुपैयाँ बराबरको १ लाख १३ हजार केजी चिया नेपालमा अयात भएको छ । बोर्डको तथ्यांकअनुसार आयात घट्दै गएको छ । पछिल्लो ७ वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७७/७८ मा १५ करोड १३ लाख रुपैयाँ बराबरको ३ लाख ४६ हजार केजी चिया आयात भएको थियो ।
