काठमाडौं । विश्व शान्तिको सन्देश फैलाउने उद्देश्य सहित युनिभर्सल पिस स्यानचुरीले आजबाट काठमाडौं लुम्बिनी “शान्तिका लागि साइकल यात्रा” प्रारम्भ गरेको छ ।
स्वयंभू काठमाण्डौंबाट आज सुरु भएको उक्त यात्रा चार दिनपछि बुध्दजयन्तिको दिन लुम्बिनीमा पुगेर समापन हुने बताईएको छ ।

साइकल यात्रामा १ सय ८ साइकलयात्री सहभागी हुने बताईइएको छ । उनीहरूले काठमाडौंबाट लुम्बिनीसम्म यात्रा गर्नेछन्, जुन गौतमबुद्धको जन्मस्थल हो । यात्राको उद्घाटन गर्दै साल्पा तेन्जिङ रिन्पोछे सहितका धार्मिक व्यत्तित्वद्वारा साईकल यात्रीहरुलाई विदाई गरेका थिए ।
सहभागीहरू काठमाडौंबाट हेटौंडा, नारायणघाट, कावासोती, दाउन्ने र भैरहवा हुँदै लुम्बिनी पुग्नेछन् । आयोजकका अनुसार विश्वका विभिन्न भागमा युद्ध र द्वन्द्व जारी रहेको अवस्थामा करुणा, अहिंसा र शान्तिको सन्देश फैलाउन साइकल यात्रा आयोजना गरिएको हो ।

विश्वभर द्वन्द्व र युद्धका कारण बढ्दो अशान्ति, भय र पीडाका बीच शान्तिको सन्देश फैलाउने उद्देश्यले “शान्तिका लागि साइकल यात्रा” आयोजना गरीएको र उक्त कार्यक्रमको समापनमा सम्माननीय प्रधानमन्त्री, पर्यटन मन्त्री तथा सरोकारवालाहरू समेतको उपस्थिति रहने रिङपोछेले बताए ।

यो विशेष साइकल यात्रा केवल खेलकुद वा यात्रामात्र होइन, यो मानवताको पक्षमा उठाइएको सामूहिक आवाज भएको आयोजकले बताएको छ । जहाँ प्रत्येक पैडलसँगै शान्ति, करुणा र चेतनाको सन्देश फैलिने उनको विश्वास छ ।
काठमाडौंदेखि पवित्र भूमि लुम्बिनीसम्म शान्तिको सन्देश बोकेर सुरु हुन लागेको ऐतिहासिक ‘शान्तिका लागि साइकल यात्रा’ले नेपाललाई फेरि एकपटक विश्व शान्तिको केन्द्रका रूपमा उभ्याउने तयारी गरेको आयोजकले बताएको छ ।

विश्वभर द्वन्द्व, युद्ध र अस्थिरताको बादल मडारिइरहेका बेला, शान्ति र करुणाको ज्योति प्रज्वलित गर्ने उद्देश्यले आयोजना हुन लागेको यो अभियानले भगवान गौतम बुद्ध को शिक्षालाई व्यवहारमा उतार्ने एउटा सशक्त प्रयासको रूपमा हेरिएको छ।अभियानले शान्ति, सहअस्तित्व र पुनर्निर्माणको सन्देशलाई जनस्तरसम्म पुर्याउने लक्ष्य राखिएको छ ।

रिन्पोछेले सबैलाई कार्यक्रममा सहभागी भई शान्तिको सन्देश फैलाउन आह्वान गर्दै भनेका छन् , “आउनुहोस्, हामी शान्तिलाई युद्धभन्दा अझ शक्तिशाली र आकर्षक बनाऔं।”
आयोजकका अनुसार १ मेमा लुम्बिनीमा हजारौं मानिस मायादेवी मन्दिर दर्शन, बोधिवृक्षमुनि ध्यान, विश्व शान्तिका लागि विशेष प्रार्थना तथा दीप प्रज्वलनमा सहभागी हुनेछन् । २ मेमा ध्यान कार्यक्रम आयोजना गरिनुका साथै श्याल्पा रिन्पोछेद्वारा लिखित पुस्तक द पाथ टू पर्फेक्ट फ्रिडमको नेपाली अनुवाद पूर्ण मुक्तिको मार्ग सार्वजनिक गरिनेछ ।

श्याल्पा रिन्पोछेले संयुक्त राष्ट्र संघ, वर्ल्ड ईकोनमिक फोरम र ह्वाइट हाउसजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा बुद्ध, लुम्बिनी र विश्व शान्तिको सन्देश प्रवाह गरेका छन् ।