काभ्रे । अविरल वर्षाका कारण रोशी बिपी राजमार्ग अन्तर्गत पर्ने विभिन्न खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ। निरन्तर परेको वर्षाका कारण सडक हिलाम्मे र साना सवारी साधन सञ्चालन हुन निकै कठिन भएको चालकले बताएका छन्।
विशेषगरी रोशी गाउँपालिका आसपासका क्षेत्रमा पानी सडकमा पस्दा सवारी साधन गुडाउनै कठिन बनेको छ। कतिपय स्थानमा सडक पूर्ण रूपमा भत्किएको र वैकल्पिक बाटोसमेत नहुँदा यात्रुहरू अलपत्र परेका छन्। यात्रुहरूले घण्टौँसम्म सडकमै कुर्नुपर्ने अवस्था आएको छ भने साना तथा ठूला सवारी साधन जोखिमपूर्ण रूपमा सञ्चालन भइरहेका छन्।
स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। सडक विभागका प्राविधिक टोलीहरू क्षति भएका स्थानहरूमा पुगेर मर्मत कार्य सुरु गरे पनि लगातार वर्षा भइरहेकाले काममा अवरोध आएको जनाइएको छ।
प्रत्येक वर्षजस्तै यस वर्ष पनि वर्षा सुरु भएसँगै सडक हिलाम्मे साँघुरोको कारण राजमार्ग प्रभावित हुनु विकास निर्माणमा ढिलासुस्ती र कमजोर पूर्वतयारीको परिणाम भएको भन्दै चालकले आक्रोश व्यक्त गरेका छन्। दीर्घकालीन समाधान नखोजिएसम्म हरेक वर्ष सर्वसाधारणले यस्तै सास्ती खेप्नुपर्ने देखिन्छ।