काठमाडौं । मुग्लिन–नारायणगढ इच्छा कामना गाउँपालिका–५ स्थित तुइनखोला नजिकै आज बिहान खसेको सुख्खा पहिरो सफा गरेपछि साधन दुवैतर्फ सञ्चालन भएको हो ।
माथिबाट ढुंगा मुढा सहितको ठूलो पहिरो खसेपछि यो सडक दुवैतर्फ अवरुद्ध भएको थियो। बिहानै खसेको पहिरो सडकको दुवैतर्फ सवारी साधन सञ्चालन नहुने गरी खसेकाले आआफ्नो गन्तव्यमा पुग्नुपर्ने यात्रु अलपत्र पर्दा शास्ती खेप्नु परेको थियो।
भरतपुर सडक डिभिजन कार्यालयका साइट सुपरभाइजर ईश्वर क्षेत्रीका जानकारी अनुसार, पहिरो गए लगत्तै आवश्यक हेभी इक्विपमेन्ट र मेशिनहरू परिचालन गरिएको थियो । निरन्तरको प्रयासपछि पहिरो हटाएर आवागमन पुनः सञ्चालनमा ल्याइएको हो ।
अहिले भने सडक पूर्णरूपले सञ्चालन भई सवारी साधन र यात्रुहरू आफ्नो आफ्नो गन्तव्यतर्फ लागिरहेका छन। यस क्षेत्रको भौगोलिक बनावटका कारण बेलाबखत सुख्खा पहिरो खस्ने जोखिम कायमै रहने हुनाले यस सडक खण्ड हुदै यात्रा गर्ने चालक तथा यात्रीहरूलाई उच्च सावधानी अपनाउन सडक विभाग र स्थानीय प्रशासनले आग्रह समेत गरेकाे छ ।
