काठमाण्डौँ । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अलोकतान्त्रिक र तानाशाह बन्दै गएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच हर्कराज राई ९साम्पाङ० नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ मा प्रवेश गर्दै किराँतीले यस्तो बताएका हुन् ।
किराँतीले वर्तमान सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको आरोप लगाउँदै राजनीतिक दलहरू ‘धार्मिक संस्था’ जस्ता भएको र नेताहरूको ‘देवत्वकरण’ भइरहेकोमा चिन्ता व्यक्त गरे। मुलुकका पुराना राजनीतिक दलहरूमा तानाशाही प्रवृत्ति हावी भएको र नेतृत्व बिचौलियाको घेराबन्दीमा फसेको उनको दाबी छ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता किराँतीले आफूले पुरानो दल नेकपा माओवादी केन्द्र त्याग्नुको मुख्य कारण आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको कार्यशैली रहेको स्पष्ट पारे। उनले पार्टीभित्र आफ्ना कुरा राख्न दुई मिनेटको समय समेत नदिइएको गुनासो गरेका छन् ।
किराँतीले श्रम संस्कृति पार्टी मा सहभागी हुँदै देशभरका नागरिकलाई पार्टीमा आबद्ध हुन आह्वान समेत गरे । उनले देश र जनताप्रति निस्वार्थ भावनाले काम गर्ने सबै व्यक्ति, समूह र शक्तिका लागि पार्टीको ढोका खुला रहेको बताए। “अब ३ करोड नेपाली नै श्रम संस्कृति पार्टी, श्रम संस्कृति पार्टी नै ३ करोड नेपाली भन्ने सोचका साथ अघि बढ्नुपर्ने समय आएको छ,” उनले भने ।
किराँतीले नयाँ शक्तिको नाममा पनि जनतामा निराशा बढेको टिप्पणी गर्दै अबको राजनीतिक अभियानको केन्द्र पूर्वी नेपाल बन्ने दाबी गरे। उनले माओवादी जनयुद्धको ‘इपिसेन्टर’ रोल्पा–रुकुम र २०७२ सालको भूकम्पको केन्द्र बारपाक रहेको स्मरण गर्दै अबको विचार र शक्तिको उदय पूर्वबाट हुने बताए ।