काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको संघीय संसदीय दलको बैठक आज बसेको छ । पार्टीको संघीय संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको संसद अधिवेशन केन्द्रित बैठकले आजबाट सुरु हुने संसद अधिवेशनका समसामयिक विषयमा गहन छलफल गर्दै विभिन्न निर्णय गरेको जनाएको छ ।
बैठकमा विशेषगरी सुकुम्वासी समस्याको अविलम्ब प्रभावकारी समाधान गर्न सरकारलाई दबाब दिने विषयमा छलफल भएको थियो । त्यसैगरी संसद छलेर ल्याइएका अध्यादेशहरूको विषय, प्रस्तावित प्रतिनिधि सभा नियमावलीमा रहेका गलत प्रावधानमाथि संशोधन पेश गर्ने तयारी तथा प्रधानन्यायाधीश नियुक्तिको विषयमा समेत गम्भीर समीक्षा गरिएको बताइएको छ ।
दलले संसदमा जनसरोकारका विषयलाई सशक्त रूपमा उठाउने र लोकतान्त्रिक प्रक्रियालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको संसदीय दलका नेता युवराज दुलालले बताए ।
