काभ्रे । पनौती नगरपालिका–२, कुशादेवीमा अध्यात्म, उद्यमशीलता र स्टार्टअप विषय केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कुशादेवी क्षेत्र सरोकार समाजको आयोजनामा तथा कुशादेवी युवा क्लबको संयोजनमा शनिबार कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । यस्तै उपप्रमुख गीता बन्जारा, वडा नं. ३ का अध्यक्ष विष्णु प्रसाद सापकोटा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख वक्ताका रूपमा रामेश्वर थापा र राजु अधिकारी रहेका थिए । कार्यक्रमको सभापतित्व सरोकार समाजका सचिव पुरुषोत्तम अधिकारीले गरेका थिए भने सञ्चालन दीपेश घिमिरेले गरेका थिए ।
तीन चरणमा सञ्चालन गरिएको अन्तरक्रियामा सहभागीहरूले व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका समस्या, सम्भावना तथा स्थानीय सरकारले खेल्नुपर्ने भूमिकाबारे आफ्ना धारणा राखेका थिए । मदन आचार्य, सुजन सापकोटा, शशिकुमार बोलखे, विष्णु घिमिरे, राजन सापकोटा र मनिका हुमागाईंलगायतले उद्यम प्रवर्द्धन, लगानी वातावरण तथा युवाको सहभागिताबारे प्रश्न उठाएका थिए ।
व्यवसायी चन्द्रप्रसाद हुमागाईंले स्थानीय स्तरमै उद्यमका पर्याप्त सम्भावना रहे पनि आवश्यक सहयोग र प्रोत्साहन अभाव रहेको उल्लेख गर्दै स्टार्टअप र साना व्यवसायलाई स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने बताए । त्यसैगरी ज्योति मिर्मिरे सामूहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले सहकारी संस्थाहरूले युवालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उद्यमशीलता विकासमा सहकारीलाई थप जिम्मेवारी दिनुपर्ने धारणा व्यक्त गरे ।
सहभागीका जिज्ञासाको जवाफ दिने क्रममा नगर प्रमुख रामशरण भण्डारीले उद्यम र व्यवसाय प्रवर्द्धनका लागि नगरपालिका सकारात्मक रहेको बताउँदै आवश्यक सहकार्य र सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा बोल्दै क्याप्टेन रामेश्वर थापाले पनौती धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा महत्वपूर्ण नगर भएकाले यसको संरक्षणसँगै आर्थिक सम्भावनालाई पनि जोड्नुपर्ने धारणा राखे । उनले आफ्ना व्यवसायिक अनुभव सुनाउँदै युवालाई जोखिम लिन र नयाँ सोचका साथ अघि बढ्न आग्रह गरे ।
त्यसैगरी डा. राजु अधिकारीले आध्यात्मिक चेतना, अनुशासित जीवनशैली, योग र ध्यानको महत्वबारे चर्चा गर्दै मानसिक सन्तुलन र सकारात्मक सोचले उद्यमशील यात्रालाई सफल बनाउन सहयोग पुग्ने बताए ।
कार्यक्रमको समापनमा सहभागीको तर्फबाट पूर्णबहादुर श्रेष्ठले प्रतिक्रिया मन्तव्य राखेका थिए भने धन्यवाद ज्ञापनसहित कार्यक्रम सम्पन्न भएको घोषणा सभापति पुरुषोत्तम अधिकारीले गरेका थिए ।