विराटनगर । जीवनशैलीमा आएको परिवर्तनसँगै बढ्दै गएको मानसिक तनाव, डिप्रेसन, दुर्व्यसन तथा आर्थिक असन्तुलनजस्ता चुनौतीको समाधानका लागि स्वजागरण र व्यावहारिक जीवन अभ्यास आवश्यक रहेको जीवन विज्ञानका संस्थापक भानु शर्माले बताएका छन्। उनले नेपाललाई विश्वकै आरोग्य पर्यटनको गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
कोशी प्रदेशसभा सचिवालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा सोमबार प्रदेशसभा हलमा आयोजित ‘पूर्ण आरोग्यका लागि स्वजागरण’ विषयक विशेष कार्यक्रममा मार्गदर्शन गर्दै शर्माले नेपाल आरोग्य र आध्यात्मिक चेतनाको ऐतिहासिक भूमि भएको उल्लेख गरे।
उनले हिमवत् खण्ड तथा नेपालको प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदालाई विश्वव्यापी आरोग्य पर्यटनसँग जोड्न सके नेपालले अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान स्थापित गर्न सक्ने बताए। विश्वभर स्वास्थ्य, मानसिक शान्ति र समग्र कल्याण अर्थात् वेलनेसप्रतिको आकर्षण बढिरहेको सन्दर्भमा नेपालले आरोग्य पर्यटनको नेतृत्व लिनुपर्ने उनको भनाइ थियो।
शर्माले संयुक्त राष्ट्रसंघमा नेपालको पहलमा हरेक वर्ष अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा मनाउने निर्णय भएको प्रसंग उल्लेख गर्दै यसलाई नेपालको अन्तर्राष्ट्रिय पहिचान र आरोग्य अभियान विस्तार गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।
कार्यक्रममा उनले तनाव व्यवस्थापन, मानसिक शान्ति र आन्तरिक ऊर्जा अभिवृद्धिका लागि नमस्कार प्राणायाम तथा विशेष श्वासप्रश्वास विधिको प्रयोगात्मक अभ्याससमेत गराएका थिए। शरीर, मन र चेतनाबीचको सन्तुलन कायम गर्न नियमित अभ्यास र स्वजागरण आवश्यक रहेको उनले बताए।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रदेशसभा सदस्य यशोदा कायस्थले जीवन र जगतलाई आरोग्यमय बनाउने दिशामा भानु गुरुदेवले प्रस्तुत गरेको मार्गदर्शन अनुकरणीय रहेको बताइन्। उनले गुरुदेवको उपस्थितिप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले व्यक्तिगत जीवनसँगै सामाजिक चेतना अभिवृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
कार्यक्रमको समापनमा प्रदेशसभा सचिवालयका तर्फबाट आध्यात्मिक चेतना र व्यावहारिक जीवन अभ्यासमा आधारित यस्ता कार्यक्रमले जनप्रतिनिधि तथा कर्मचारीको सकारात्मक सोच, कार्यक्षमता र आत्मविश्वास अभिवृद्धिमा सहयोग पुग्ने धारणा व्यक्त गरिएको थियो। साथै आगामी दिनमा पनि यस्ता जीवनोपयोगी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको थियो।
कार्यक्रमले कोशी प्रदेशको प्राकृतिक तथा आध्यात्मिक सम्भावनालाई आरोग्य पर्यटनसँग जोड्ने बहसलाई समेत थप महत्त्व दिएको आयोजकको विश्वास छ।
