काठमाडौं । काठमाडौं महानगरपालिका, यूनेस्को तथा काठमाडौं सिटी अफ फिल्म्सको आयोजनामा नेपा: डान्स एकेडेमी, बौद्ध दर्शन अध्ययन पुचः र नेपा सांस्कृतिक पुचःको सहकार्यमा २०८३ जेठ ९ गते राष्ट्रिय नाचघर, जमलमा सम्पन्न ऐतिहासिक कार्यक्रम “चर्या प्रवाह” मा चर्या बौद्ध दर्शन तथा नृत्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई विशेष सम्मान अर्पण गरिएको छ । कार्यक्रममा विभिन्न कलाकारहरूले चर्या नृत्य प्रस्तुत गर्दै गुरुको योगदानप्रति श्रद्धा व्यक्त गरेका थिए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै गुरु यज्ञमान पति बज्राचार्यले भावुक हुँदै भन्नुभयो, “आजको यो वातावरणमा देवी–देवताहरूको अलौकिक उपस्थिति महसुस भइरहेको छ । यस्तो आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रम अत्यन्त दुर्लभ हुन्छ । आज मैले आफ्नो जीवनको सार्थकता महसुस गरेको छु ।” उहाँले काठमाडौं महानगरपालिकाप्रति विशेष आभार व्यक्त गर्दै आफूलाई मानिस भएर जन्मिएको अर्थ आज गहिरो रूपमा अनुभूत भएको बताउनुभयो ।
आयोजकको तर्फबाट कार्यवाहक प्रमुख Sunita Dangol ज्यूले गुरु यज्ञमान पति बज्राचार्य ज्यूले कुनै जात, उमेर, वर्ग वा समुदायको भेदभाव नगरी सबैलाई समान रूपमा शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले नेपा: डान्स एकेडेमीले संस्कृति संरक्षणमा निरन्तर सक्रिय गुरु व्यक्तित्वलाई सम्मान गर्न यस्तो कार्यक्रम आयोजना गरेको भन्दै सम्पूर्ण कलाकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमको संयोजन नेपा: डान्स एकेडेमीका प्रमुख संयोजक रीना महर्जन, नेपा: डान्स एकेडेमीका अध्यक्ष रोहिया महर्जन, नेपा: डान्स एकेडेमीका म्यानेजिङ डाइरेक्टर गम्भीर मान सिंहले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सदिक्ष्या श्रेष्ठले गर्नुभएको थियो । “चर्या प्रवाह” ले नेपालको अमूल्य अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूको भनाइ रहेको छ ।