काठमाडौं । बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ।
सभाअध्यक्ष नारायणप्रसाद दाहालले सभाबाट उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे। संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विधेयक राष्ट्रियसभाबाट पारित गर्नुपर्ने आज अन्तिम समयसीमा रहेको थियो।
मन्त्री न्यौपानेले यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवदेनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले विधेयकले सङ्घीयताको मर्मअनुसार कर्मचारीको व्यवस्थापन गर्ने विश्वास व्यक्त गरे। 'राष्ट्रियसभाले एउटा इतिहास रचेको छ। सङ्घीयतालाई कार्यान्वयन गर्न आवश्यकपर्ने महत्त्वपूर्ण यस विधेयकमा अत्यन्तै हार्दिकताका साथ सहमति जुटेको छ', मन्त्री न्यौपानेले भने, 'सङ्घीयतामा गएको यतिका वर्ष भइसक्यो, तर त्यसको मर्मअनुसार कर्मचारीको व्यवस्थापन हुन सकिरहेको थिएन। अब कर्मचारी व्यवस्थापनमा भइरहेको असहजता र अन्योलताको हल गर्ने परिस्थिति बन्नेछ।'
सभाको आजकै पहिलो बैठकमा विधान व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले उक्त विधेयकसम्बन्धी प्रतिवेदन पेस गरेकी थिइन्। उनले विधेयकले प्रशासनिक सङ्घीयतालाई प्रभावकारी बनाउने बताएकी हुन्।
'प्रतिवेदनले निजामती सेवाका कर्मचारीलाई आफ्ना कामप्रति व्यावसायिक, निष्ठावान् र प्रतिबद्ध बनाउँदै नीतिनिर्माण एवं कार्यान्वयनमा स्वार्थको द्वन्द्व नहोस् भनी महत्त्वपूर्ण प्रावधान राखेको छ। खासगरी अवकाश भएको मितिले दुई वर्षसम्म अन्यत्र सेवा गर्न वा कुनै नियुक्ति लिन नपाउने गरी प्रबन्ध गरिएको छ', सभापति दाहालले भने।
विधेयकको व्यवस्थाअनुसार अब ऐन प्रारम्भ भएको वर्ष ५८, दोस्रो आर्थिक वर्षमा ५९ वर्ष र तेस्रो आर्थिक वर्षदेखि ६० वर्षको अनिवार्य अवकाश उमेर हद लागू हुनेछ।
सभाको अर्को बैठक भदौ २३ गते सोमबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ।