२०८३, आश्विन १ गते

Sep 17 2026

बनेपामा पक्राउ परेका चोरी गिरोहका सदस्यविरुद्ध दर्जनौं मुद्दा, पुराना आपराधिक सञ्जालसँग सम्बन्ध खोज्दै प्रहरी

बनेपामा पक्राउ परेका चोरी गिरोहका सदस्यविरुद्ध दर्जनौं मुद्दा, पुराना आपराधिक सञ्जालसँग सम्बन्ध खोज्दै प्रहरी

बिहिवार, जेठ २१ २०८३
बिहिवार, जेठ २१ २०८३
  • बनेपा । सार्वजनिक यातायातमा यात्रुको नगद चोरी गरेको आरोपमा पक्राउ परेका तीन व्यक्तिको विगतमा पनि पटक–पटक आपराधिक गतिविधिमा संलग्नता रहेको तथ्य खुलेपछि काभ्रेपलाञ्चोकमा सक्रिय चोरी तथा लुटपाट सञ्जालबारे नयाँ बहस सुरु भएको छ। प्रहरीले पछिल्लो घटनामात्र नभई उनीहरूको पुरानो आपराधिक इतिहास र सम्भावित नेटवर्कमाथि समेत अनुसन्धान विस्तार गरेको जनाएको छ।

    गत जेठ १० गते बनेपा–१० पुलबजार क्षेत्रमा काठमाडौंबाट पनौतीतर्फ जाँदै गरेको बसमा यात्रा गरिरहेकी ललितपुर महाङ्काल गाउँपालिका–३ निवासी पार्वती सञ्जेलको झोलाबाट ३२ हजार ५ सय रुपैयाँ चोरी भएको थियो। घटनापछि फरार रहेका तीन जनालाई इलाका प्रहरी कार्यालय बनेपाले जेठ १६ गते सिसिटिभी फुटेज र प्राविधिक अनुसन्धानका आधारमा नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा भुम्लु गाउँपालिकाका सुदीप भण्डारी (सुमन क्षेत्री), साधुराम भुजेल तथा रामेछापका विशाल तामाङ (पासाङ लामा) रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार विशाल तामाङविरुद्ध मात्रै चोरी तथा डाँका सम्बन्धी १९ वटा मुद्दा दर्ता भएको अभिलेख भेटिएको छ। त्यस्तै साधुराम भुजेलविरुद्ध ४ वटा र सुदीप भण्डारीविरुद्ध चोरी तथा डाँकाका ६ वटा तथा ज्यान मार्ने उद्योगसम्बन्धी १ वटा मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ।

    प्रहरीका अनुसार प्रारम्भिक चरणमा आरोपितहरूले आफ्नो वास्तविक परिचय लुकाउने प्रयास गरेका थिए। नागरिकता लगायतका आधिकारिक कागजात प्राप्त भएपछि मात्रै उनीहरूको वास्तविक विवरण खुलेको थियो। सामाजिक सञ्जालका विभिन्न खाताबाट समेत उनीहरूको पहिचान पुष्टि भएको जनाइएको छ। पक्राउपछि केही सामाजिक सञ्जाल खाता निजी (प्राइभेट) बनाइएको प्रहरीले जनाएको छ।

    पुरानो गिरोहसँग सम्बन्धको आशंका

    अनुसन्धानका क्रममा पक्राउ परेका केही व्यक्तिको नाम यसअघि भक्तपुर क्षेत्रमा पक्राउ परेको चर्चित चोरी तथा लुटपाट गिरोहसँग पनि जोडिएको पाइएको छ। केही वर्षअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको गिरोहमा समेत साधुराम भुजेल, सुदीप भण्डारी र विशाल तामाङको नाम उल्लेख भएको थियो।

    त्यतिबेला गिरोहका मुख्य व्यक्ति भनिएका कृष्णबहादुर खड्का ३८ पटकसम्म पक्राउ परिसकेको प्रहरी अभिलेखमा उल्लेख थियो। उक्त समूहबाट नगद, सुनचाँदीका गरगहना, विदेशी मुद्रा, मोटरसाइकल तथा कार बरामद गरिएको थियो। अनुसन्धानले गिरोहले सार्वजनिक यातायातमा पाकेटमारी, धनी व्यक्तिको निगरानी (रेकी) तथा अवसर हेरेर लुटपाट गर्ने गरेको देखाएको थियो।

    सम्पत्ति र आर्थिक स्रोतबारे पनि चासो

    पटक–पटक पक्राउ परेका व्यक्तिहरूको जीवनशैली, प्रयोगमा रहेका सवारी साधन तथा आर्थिक स्रोतबारे पनि स्थानीय तहमा प्रश्न उठ्न थालेका छन्। यद्यपि यस विषयमा अनुसन्धान निकायले हालसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन।

    यसैबीच सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियो तथा तस्वीरमा आरोपितहरू विभिन्न राजनीतिक कार्यक्रममा सहभागी भएको दाबी गरिएको छ। उनीहरू नेताहरूलाई माला लगाउने, स्वागत गर्ने वा सार्वजनिक कार्यक्रममा उपस्थित भएको दृश्यहरू चर्चामा आएका छन्। यस्ता गतिविधिको वास्तविक सम्बन्ध र उद्देश्यबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    धरौटीपछि पुनः अपराधमा फर्किने प्रवृत्तिमाथि प्रश्न

    प्रहरी अभिलेखमै बारम्बार पक्राउ परेको इतिहास भएका व्यक्तिहरू पुनः समान प्रकृतिका अपराधमा संलग्न देखिनुले कानुनी कार्यान्वयन र सुधार प्रणालीको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ। पक्राउ, धरौटी वा सजायपछि फेरि अपराधमा फर्किने क्रम किन दोहोरिन्छ भन्ने विषयमा सुरक्षा निकायभित्र समेत छलफल हुन थालेको बताइएको छ।

    इलाका प्रहरी कार्यालय बनेपाले हाल पक्राउ परेकाहरूको पुराना घटनासँगको सम्बन्ध, सम्भावित संगठित सञ्जाल, आर्थिक गतिविधि तथा फरार अन्य व्यक्तिको खोजीलाई तीव्र बनाएको जनाएको छ। अनुसन्धान केवल एक घटनामा सीमित नरही विभिन्न जिल्लामा भएका पुराना र नयाँ घटनाबीचको सम्बन्ध केलाउन केन्द्रित रहेको प्रहरीको भनाइ छ।

    स्थानीयवासीले लामो समयदेखि सक्रिय रहेको भनिएको यस्तो सञ्जालको सम्पूर्ण संरचना उजागर गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी तथा प्रवक्ता डीएसपी रविन विष्टका अनुसार पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान जारी छ। प्रारम्भिक अनुसन्धानले उनीहरू काठमाडौं लगायतका क्षेत्रमा वृद्ध महिलाको सुनका गरगहना लुट्ने तथा अन्य आपराधिक गतिविधिमा समेत संलग्न रहेको संकेत गरेको प्रहरीले जनाएको छ।

    IMG_20260604_114913.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij